Thursday, May 7, 2015

ठुलो भूकम्पपछिको क्षति आँकलन


'नेपालमा छिट्टै नै ठूलो भूकम्प जान सक्छ' भनेर अनेक अध्ययनहरुले गर्ने गरेको आँकलन गत बैशाख १२, २०७२ मा सहि साबित भयो | ठुला भूकम्पहरुको पुनरारिबृत्ति हुने समय नेपालको हकमा ७५-८० बर्षको रहेको छ, बिगतका ठुला भूकम्प र महा भूकम्पका इतिहाँसले यहि बताउँछ | 

नभन्दै झन्डै ८१ बर्षपछी नेपालले विनाशकारी महाविपत्ती भोग्नु पर्यो र देशका अधिकाँश भूभाग प्रत्यक्ष र परोक्ष रुपमा पिडित बन्न पुग्यो | त्यसो त ई.स. २००४ मा यु.एन.डी.पी./बि.सी.आर.पी.ले संयुक्त रुपमा गरेको अध्ययनले नेपाललाई प्राकृतिक विपत्तिका दृष्टिकोणमा एघारौँ जोखिमयुक्त देश भनि घोषणा गरिसकिएकै थियो, त्यसै गरि बिश्व बैंकले इ.स. २००५ मा प्रकाशित गरेको रिपोर्टले काठमाण्डौलाई विश्वकै सबैभन्दा जोखिमयुक्त शहर भनेर तोकिसकेकै थियो | १० वर्षको यस पूर्वतयारिको घडीमा पनि हामीले आवश्यक तयारि गर्न सकेनौं भन्ने पुष्टि अहिले भएको छ | नेपालमा अनवरत रुपमा भूकम्प तथा यसको जोखिमको बारेमा बिगत २० वर्षदेखि अध्ययनरत संस्था "भूकम्प प्रविधि राष्ट्रिय समाज" (एनसेट) ले अनेकौँ रिपोर्टहरुमा प्रकासित गरेका भवन सुरक्षित बनाउने बिधिहरु, पूर्व तयारिका प्रकृयाहरु लगभग उपयोगीशून्य देखियो | 

यसको प्रमुख कारण भनेको हाम्रो पिढीमा हामी जीवित रहेको सार्है थोरै व्यक्तिहरुलाई मात्रै बि.स. १९९० को महाभूकम्पको सम्झनाको केहि त्यान्द्राहरु बाँकी थियो तर यस पिढीका अधिकाँस (लगभग सबैजसो) जनतालाई यस्तो महाविपत्तिको बिल्कुलै कल्पनासम्म थिएन | ९० सालको बिपत्ति पछी पनि केहि ठूला/साना भूकम्पहरु देशमा घटित नभएको पक्कै होइन तर बिपत्ति भोग्नेहरुको संख्या अहिलेको अवस्थामाभन्दा नगन्य मात्रामा रहेको जसको सम्झना हालका अधिकांश नेपालीहरुको मानसपटलबाट हराईसकेको अवस्थामा थियो | भूकम्पको जोखिम नभोगेकाहरुलाई भने आफ्ना कमसल भवनहरुपनि अजम्बरी लाग्नु स्वाभाविक नै भयो किनकी सयौँ बर्षअगाडि बनेका अनेकौँ भवनहरुमा त कहिले केहि नभएको देखेकाहरुलाई भर्खरै बनाएका नयाँ भवनहरु प्रतिको विश्वास अद्वितीय थियो | बैशाख १२ को  भूकम्पले अधिकांश मानिसहरुका ती बिश्वासहरु चकनाचुर पारिदिएको छ |

भूकम्पले देशको झण्डै ३० जिल्लामा अपुरणीय क्षति पुर्याएको तथ्यांक सरकारी तवरमा प्रकाशित भएको छ | काठमाण्डौका लगभग सबैजसो साँस्कृतिक धरोहरहरु र विश्व सम्पदा सुचिमा सुचिकृत अधिकाँश पुरातात्विक महत्वका राष्ट्रिय सम्पदाहरुको नाश भएको छ भने जोगिएका त्यस्ता धरोहरहरुमा पनि ब्यापक क्षति भएको छ | त्यसैगरी ब्यापारिक र आवासीय भवनहरु अधिकाँश क्षतिग्रस्त देखिएका छन्, केहि भवनहरु पूर्णतया ध्वस्त भएका छन् भने केहि भवनहरुमा सामान्य क्षति भएको देखिन्छ | क्षतिग्रस्त भवनहरुको प्रारम्भिक अध्ययन गर्दा भवनहरु क्षति हुनाको केहि कारण प्रष्ट हुन आएको छ जसको विश्लेषण क्रमैसँग गरिएको छ |
आम जनधारणा (जुन पूर्णतया सत्य छैन) अनुरुप भार बहन गर्ने भवन (लोड बियरिंङ) हरु आर.सी.सी. (बिम कोलम हुने भवन) भन्दा कमजोर हुन्छ | यस धारणालाई विल्कुल गलत सावित गरिदिएको छ यस पल्टको ठुलो भूकम्पले |

फोटो स्रोत : फेसबुक
(बाँकी सबै फोटोहरु लेखकले घरहरु निरिक्षण गर्ने क्रममा खिचेको )

चित्रमा देखाइएको सेतो भवन आर.सी.सी हो जुन भूकम्पबाट क्षति भएको देखिन्न भने दायाँ रहेको लोड बियरीङ भवन पनि क्षतिरहित देखिन्छ | तर बिचमा देखिएको आर.सी.सी. भवन भने पूर्णतया ध्वस्त (टोटल कोल्याप्स) भएको देखिन्छ | यसबाट के बुझ्न सकिन्छ भने भवनको निर्माण बिधि मात्रैले कुन भवन बलियो र कुन कमजोर भनेर निर्क्योल गर्न सक्ने अवस्था हुँदैन | यसका लागि जमिनको अवस्था, निर्माण विधिको नियमितता, भवन निर्माण निर्देशिकाले उल्लेख गरे बमोजिमका भवन निर्माण सामग्रीहरुको प्रयोग र तिनको समायोजन, कार्यकुशलता आदिको ब्यापक भूमिका रहन्छ | यस बाहेक भवनको फ्रिक्वेन्सी र भूकम्पको कम्पन हुँदाको अवस्थाको फ्रिक्वेन्सी समान हुने प्रक्रिया (रिजोनेन्स इफेक्ट)ले गर्दा पनि नजिकै रहेका कुनै भवन पूर्णतया क्षतिग्रस्त भएको देखिन्छ भने छेवैको अरु भवनमा भने सामान्य वा नगन्य मात्रामा क्षति भएको देखिन्छ |

सामान्य रुपमा हेरेकै भरमा भवनहरुको क्षति मुल्यांकन गरेर सो घर बस्न योग्य छ वा छैन भन्ने जाच्न मिल्ने अवस्था रहन्छ | भवनहरु निरिक्षण गर्ने क्रममा बिभिन्न प्रकारका क्षतिहरु देखिए अनुरुप सो भवनहरुको क्षतिको कारण र अवस्था सहित यहाँ सचित्र बर्णन गरिएको छ |

१) भासिएको, धसिएको जमिनको अवस्था
 सामान्यतया साना आवासीय भवनहरुको निर्माण गर्दा जमिन/माटो परिक्षण कहिल्यै हाम्रो प्रमुख जाँचको बिषय बन्न सकेन | कारण भनेको कहिल्यै देशमा यत्रो विपद हामीले भोगेकै थिएनौं, कम्तिमा अहिलेको पिढीले | त्यसैले सामान्य भवनहरु बनाउँदा घरको जग हाल्न प्रयोग गरिने खाल्डोको गहिराइ, चौडाई जमिनको जस्तोसुकै अवस्थामा पनि आम मानिसले भन्ने गरेको बढीमा पाँच फिट X पाँच फिट भन्दा फरक हुन सकेन | यो गलत हो | विभिन्न भवनको विभिन्न प्रारूप हेरी जगको आवश्यकता फरक हुन सक्छ | माटो जाँच गर्ने गरेमा सो माटोको भार बहन क्षमताको ज्ञान मिल्दछ र भवन निर्माण गर्नुपर्ने क्रममा भवन कति तल्ले बनाउने हो त्यसको अनुपातमा खाल्डोको गहिराइ, चौडाई तथा भवनको जगको प्रकृति फरक पर्दछ | अहिलेको क्षतिमा देखिएको अधिकाँश भवनहरु गर्ल्याम्मै ढल्नु (टोटल कोल्याप्स) को प्रमुख कारण भनेको तेस्ता भवनहरु मुनिको कमजोर माटो हो | 

कतिपय अवस्थामा जग कमजोर बनाउन भूमिका खेलेको देखिएको भनेको घर छेवैबाट बगेको ढल, कुलो, कुलेसाहरु हुन | मानिसहरुले खासै पत्तो नपाउने तथा सार्है सुक्ष्म तर डरलाग्दो कारण भनेको हामीले घरमुनि पानी संचय गर्न बनाउने पानि ट्यांकी चुहिनु पनि हो | यस्तो ट्यांकी बाट चुहिएको पानी भवनको जगमा पुग्ने अवस्था प्रचुर रहन्छ यदि सो भएमा भवन दब्ने/भासिने (फुल/पार्सियल) सेटलमेन्ट हुन गइ भवनहरु 'कम्प्लिट कोल्याप्स' हुन पुग्दछन् | तथापि घरधनीहरु आरसीसी भवनहरुमा खासै क्षति नदेखिदै घर छेउका पेटीहरु भासिने कारणबाट त्रसित देखिन्छन, तर यस्तो हुनु स्वाभाविक हो | हाम्रो भवनको जग जति बलियो बनाएका हुन्छौँ र जति जमिन मुनिबाट उठेको हुन्छ, ती पेटीहरुमा हामीले त्यति धेरै खर्च गरेका हुँदैनौं | भन्नाले सामान्य माटो खोस्री टुटे फुटेका इट्टा/ढुङ्गा सोलिङ गरेर बनाइएका पेटीहरु घर जत्तिकै बलियो हुन नसकेर भासिएका हुन | यो भासिने क्रम घरको छेवैमा इनार बनाइएको अवस्थामा झनै बढी देखिन्छ |

लोड बियारिङ भवनहरुको अवस्थामा भने तेस्तो दबिएको/भासिएको जमिनलाई सामान्य कदापि मान्न सकिदैन | तेस्ता भवनमा प्रमुख भार बहन गर्ने भनेको भित्ताहरु नै दबीए घरमा अत्याधिक क्षति देखिन्छ | घरभित्रका भुइँ फुल्छ भने घरबाहिरको जमिनमा चिरा पर्ने/धसिएको बांगिएको देखिन्छ | यो साधारण अवस्था होइन र भवनमा धेरै क्षति पुगेको बुझ्नुपर्छ | यस्तो अवस्थामा बिभिन्न घर बलियो बनाउने (स्ट्रेन्थेनिङ टेक्निक) हरु हुने भएता पनि सार्है पुराना/कम महत्वका भवनहरु भने भत्काउन नै सल्लाह दिइन्छ |


२) सामान्य तथा केहि विशेष चर्किएका भित्ताहरु
आर.सी.सी भवनहरुको हकमा साना धर्सा जस्ता देखिने चर्काइहरु सामान्य मानिन्छ | स्ल्याब,बिम, पिलर मार्फत लोड ट्रान्सफर हुने आर.सी.सी. भवनहरुमा सामान्यतया इट्टाको वालको भूमिका भनेको कोठा छुट्टयाउने मात्रै हुन्छ | जब भूकम्प जाँदा स्ल्याब, बिम, पिलर हल्लिदा वालमा पनि झट्का गए अनुरुप ती क्रयाकहरु देखिन्छ | भूकम्पको असर एकै भवनको पनि भिन्न ठाउँमा भिन्न असर पर्ने हुँदा केहि घरहरुमा सामान्य चर्किएको देखिन्छ भने सोहि घरको अर्को पाटोमा धेरै असर परेको देखिन पनि सक्छ | यस्तो अवस्थामा चर्किएको भागको अवस्था कस्तो छ, पुरै चिरिएर इट्टा नै झर्ने अवस्था छ भने यथाशक्य छिटो तेस्ता वालहरुको मर्मत गर्नुपर्ने हुन्छ भने तेस्ता वालहरुमा इट्टाहरु सामान्य अवस्थामा रहेका छन् भने प्लास्टर उप्काएर सो वालको मर्मत गर्न सकिन्छ | तत्काल तेस्ता भित्ताहरु लड्ने सम्भावना हुँदैन तर पनि चर्किएको, भत्किएको भित्ता देख्दा मनमा स्वाभाविक रुपमा डर उत्पन्न भएर मानिसहरु घर छाडेर बाहिर बस्ने गरेको पाइयो | आरसिसि भवनको खण्डमा यति धेरै आत्तिनु आवश्यक छैन |

तथापि लोड बियरीङ घरहरुको खण्डमा भनेको यस्ता चर्काइहरुको विशेष महत्व हुन्छ त्यसैले त्यस्ता चर्किएका भागहरुको सुक्ष्म अध्ययन गर्नुपर्ने हुन्छ | यस्ता भवनहरु साधारणतया ग्राभिटि लोड (जमिनले तान्ने)लाई मात्रै थेग्ने प्रयोजनका लागि बनाइएका हुन्छन र जमिनमा कम्पन आउँदा भवनमा ठाडो नभई तेर्सो दिशामा भवनमा धक्का पुग्न जान्छ | यसले गर्दा तेस्ता भित्ताहरुमा साना चिरा देखि धेरै लामा ठुला धेरै ठाउँमा चिराहरु पर्न जान्छ | यस्ता चिराहरु सबैभन्दा पहिले झ्याल, ढोकाका कोणहरुबाट फैलिने गर्छ, किनकि सबैभन्दा कमजोर भागहरु तिनै हुन् | यस्ता चिराहरु थोरै केहि भागमा मात्रै परेका छन् र सामान्यतया सार्है मसिना अथवा चौडाईमा २ मिलिमिटर भन्दा कमका छन् भने खासै ठुलो समस्या मानिहाल्नु पर्दैन | ती चिराहरु हाम्रा भवनका प्लाष्टरहरु मात्रैमा परेका पनि हुन सक्छन | 

तथापि तेस्ता चिराहरु चौडाईमा पनि ठुला छन्, लम्बाई पनि धेरै लामा छन्, भित्ताको जोडहरु पनि नाघेर एक वाल बाट अर्को वाल सम्म पनि पुगेका छन्, प्लाष्टरमा मात्रै क्षति नभएको भएर गाह्रो मै पनि चिराहरु देखिएका छन्, केहि ठाउँमा इट्टाहरु नै टुक्रिने फुट्ने अवस्था देखिएको छ, भवनको भित्रबाट हेर्दा बाहिरै देखिने आदि भएको छ भने अवस्था हेरि ती भवनहरुमा अत्याधिक क्षति भएको छ भन्न सकिन्छ | कुनै तेस्ता वालहरु अत्याधिक लोडको प्रभावले फुल्ने भएको खण्डमा पनि यस्ता भवनहरु बस्न सुरक्षित मानिदैन र तत्काल ती भवनहरुलाई बलियो पार्ने बिधि (स्ट्रेन्थेनिङ टेक्निकहरु) प्रयोग गर्नुपर्ने देखि लिएर भवन नै भत्काउनु पर्ने अवस्था हुनसक्छ |  मैले धेरै भवनहरु निरिक्षण गर्ने क्रममा देखेको भनेको तल्लो तल्लाका तेस्ता घरहरु कांचो माटोले बनेका र तेस्ता भवनहरुमा तल्ला थप गरिएको र माथिका तल्लाहरु भने सिमेन्ट मोर्टार (सिमेन्ट प्रयोग गरेर बनाइएको) पाइयो | यस्तो अवस्थामा तल्लो तल्लामै धेरै क्षति भैसकेको भए माथिका तल्लाहरु मात्रै बलियो छ भनेर कदापि भवनलाई सुरक्षित मान्न सकिने भएन |

३) पिल्लर छेउ, बिम मुनि देखिने धर्साहरु
आरसीसी भवनहरुमा देखिने यस्ता बिम मुनि र पिल्लर छेउमा देखिने मसिना तथा केहि ठुला धर्साहरु पनि आपत्तिजनक अवस्थाका नहुन सक्छ | यस्ता धर्साहरु देखिनु भनेको घरको भार बहन गर्ने स्ल्याब, बिम र पिलर तथा भार बहन नगर्ने भित्ता बिच दरार आएकाले हुने गर्दछ | सामान्य केहि फुटेका यस्ता भित्ताहरुलाई सामान्य मर्मत गरे मात्रै पनि पुग्ने हुन्छ भने केहि धेरै नै चर्केका, फुटेका र कुनै अवस्थामा भित्ताको जोर्नीहरु नै फुटेका देखिने र इट्टा नै फुटेको/झरेको अवस्थामा भने स्थिति हेरि भित्ता पुरै भत्काएर फेरि लगाउनुपर्ने पनि हुनसक्छ | तर यस्ता दरारहरु मात्रैको कारणले भवन पुरै कामै नलाग्ने वा भार बहन गर्न नसक्ने भने हुदैनन | बुझ्न पर्ने कुरा के हो भने आरसीसी भवनका सबै भित्ताहरु भत्काइए पनि भवनको भार बहन शक्तिमा ह्रास आउँदैन |

४) बिममा देखिने ठाडो धर्साहरु र पिल्लरमा देखिने तेर्सा धर्साहरु तथा जोर्नीमा देखिने दरारहरु
यस्ता बिममा देखिने ठाडा चर्काइहरु, पिल्लरमा देखिने तेर्सा चर्काइहरु तथा बिम र पिलरमा देखिने दरारहरु आरसीसी भवनमा खतराका चिन्हहरु हुन | भवनमा यस्ता चर्काइहरु बिभिन्न कारणले देखिने भएतापनि क्षति विश्लेषण गर्न प्राविधिक परामर्श नै चाहिने हुन्छ | कंक्रिट चर्किएको देखिएको, ढिक्का ढिक्का कंक्रिट नै झरेको र कंक्रिट फुटेर डण्डी नै देखिएको खण्डमा भवनमा क्षति धेरै नै भएको बुझिन्छ | यस्ता क्षतिहरु भवन कति अग्लो छ भन्नेमा पनि निर्भर गर्ने गर्दछ | अग्ला भवनहरुले भुइँतल्लामा पार्ने प्रमुख क्षतिहरुमा यस्ता अवस्थाहरु पर्छन | यदि यस्ता दरारहरु देखिएमा तुरुन्तै प्राविधिक सल्लाहका लागि खबर गर्नुपर्दछ | क्षति विश्लेषण गर्न प्राविधिकहरुले विस्तृत अध्ययन गर्नेछन् र सुझाब दिनेछन |
५) बिम, पिल्लर पूर्ण क्षति हुनु  
यदि आरसीसी भवनहरुको बिम तथा पिल्लर माथि चित्रमा देखाइएको जसरि फुटेर कंक्रिट झरेको र डण्डी देखिएको तथा डण्डी पनि बांगिएको देखिएमा यस्ता भवनहरु पूर्ण खतराका सूचक हुन | यस्ता भवनमा छिर्नु हुदैन र तत्काल प्राविधिकहरुलाई खबर गर्नु पर्दछ | यस्तो क्षति प्राविधिकहरुले बिस्तृत अनुषन्धान गरे पश्चातमात्रै मर्मतयोग्य छ वा भवन नै भत्काउनु पर्ने प्रकृतिको हो निर्क्योल गर्न सकिन्छ | भवनको कुन भागको पिल्लर, बिममा यस्तो क्षति भएको हो, तेस्ले यस्ता बिषयको निर्क्योल गर्ने आधार पैदा गर्दछ |
यसरि सामान्य ढङ्गमा बुझ्न सकियोस भनेर क्षति आँकलन गर्न यस लेख लेखिएको हो तर यसै लेखलाई मात्रै आधार मानेर क्षति विवरण निर्क्योल गरिएमा स्थिति प्रतिकुल पनि बन्न सक्छ | हाललाई भवनहरुको अवस्था बस्न योग्य छ वा छैन भनि जानकारी दिन निशुल्क रुपमा बिभिन्न इन्जिनियर समुहहरु राष्ट्रिय स्तर तथा ब्यबसायिक स्तरबाट परिचालित छन् | यथाशक्य छिटो आफ्नो भवनको अवस्था निर्क्योल गर्ने सुविधा जनमानसले प्रयोग गर्न पाउने अवस्था छ | यदि तपाइँ इन्टरनेट प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो भवनको अवस्था जान्न घरमा भएको अत्याधिक क्षतिको फोटो खिचि www.bhukampa.net मा अपलोड गरि आवश्यक प्राविधिक सेवा पाउन सक्नु हुनेछ | साधारण समस्या हो भने फोनबाटै निर्क्योल गर्न सकिन्छ र यदि फोटोबाटै मात्र घरको अवस्था निर्क्योल गर्न नसकिए प्राविधिक साथीहरुलाई हजुरको घरमै पठाएर निशुल्क प्रारम्भिक सेवा दिदै आएका छौं |

यस लेख मिति २०७२ साल बैशाख २४ गतेको अन्नपूर्ण पोस्टमा छापिएको हो |



0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More