Monday, June 1, 2015

यस्तो हुनुपर्छ बिद्यालय भवन

भूकम्प प्रतिरोधी भवन निर्माणको शिक्षामा सबैभन्दा पहिले सिकाइने भनेको साना तथा मझौला स्तरका भूकम्पहरुले न्यून वा सामान्य मात्रै क्षति पुर्याउने भवनहरुको निर्माण बिधि र ठुला तथा विध्वंसक भूकम्पहरु घटित हुँदापनि अत्यावश्यकिय सेवा प्रवाह गर्ने अस्पताल, किन्डरगार्टेंन, आणविक भट्टी आदि जस्ता सम्बेदनशिल भवनहरु निर्वाद रुपमा सेवा दिन सक्षम रहने प्रकृतिका निर्माणबिधि हुन | कुनै पनि भूकम्पले अलिकति पनि असर नपार्ने भवन निर्माण गर्न अत्यन्तै जटिल छ, असम्भवप्राय छ | भूकम्प प्रतिरोधी भवनहरुले गर्ने भनेको चाहिँ मानवीय तथा भौतिक क्षति सकेसम्म न्यून गर्ने र अत्यन्तै नाजुक अवस्थामा पनि मानवहरु सुरक्षित स्थानसम्म भाग्नसक्ने समयको उपलब्धता प्रदान गर्ने नै हो |

सन् २००५ मा भएको एक अध्ययनले नेपाललाई भूकम्पीय जोखिमको कारणले बिश्वको ११औं जोखिमयुक्त देश भनेर तोकेको छ भने बहुजोखिमयुक्त मुलुकहरुको सुचिमा नेपाल २०औँ स्थानमा पर्दछ | अहिलेको भूकम्प एउटा प्रतिनिधिमुलक घटना भयो जसबाट हामीले धेरैभन्दा धेरै पाठ सिकेर हाम्रो भविष्य जोखिममुक्त बनाउन धेरै कार्यहरु गर्न आवश्यक छ | अहिलेको जोखिम टर्यो र मेरो घर बस्ति सुरक्षित छ भनेर ढुक्कले बस्ने समयभने यो होइन | हाम्रो मात्रै भवन सुरक्षित भएर हामी सुरक्षित हुने होइन, हाम्रो समुदाय, क्षेत्र र देश नै सुरक्षित बनाउन सक्यौँ भने मात्रै हामी सुरक्षित हुने हौँ | हामी बस्ने हाम्रा भवनहरु त सुरक्षित हुन पर्यो नै तर अत्यावश्यकीय सेवा प्रदान गर्ने भवनहरु अझै बढी बलियो बनाउनु पर्यो जसले गर्दा विपदको घडीमा पनि हामी सुरक्षित महशुस गर्न सकौँ |
नेपालमा प्रचलित त्यस्ता अत्यावश्यकिय भवनहरुको सुचिमा बिद्यालय, अस्पताल, विमानस्थल आदि पर्ने भएतापनि हामीले गरेको पुर्वतयारि यथेष्ठ भएनछ भनेर बैशाख १२ को ठुलो भूकम्पले हामीलाई राम्रो पाठ सिकाएको छ | धेरै स्कुल भवनहरु त यति सम्म कमजोर ठहरिए कि भूकम्पको पहिलो धक्का नै सहन नसकेर निमेषभरमै गर्ल्याम गुर्लुम ढल्न पुगे | हताहतीको कति कहालीलाग्दो तथ्यांक केलाईरहेका हुन्थ्यौं होला हामी अहिले यदि सो ठुलो भूकम्प शनिबार नगएर अन्य कुनै शैक्षिक गतिविधि हुने दिनमा गएको हुन्थ्यो भने ? अस्पतालहरु शैक्षिक संस्था भन्दा तैबिसेक केहि मजबुत देखिए तथापि यो ढुक्क हुने अवस्था कदापि होइन | यसरि भवनहरु क्षति हुनाको कारण अनेकौँ भएता पनि हामीले अत्याधिक प्राथमिकतामा राख्नुपर्ने सेवा सुविधामा पनि आवश्यक सुरक्षित बिधि प्रयोग नगरिनुलाई नै क्षतिको प्रमुख कारण मान्न सकिन्छ |

बिद्यालयहरुको क्षतिलाई नियाल्ने हो भने भूकम्पको बढी असर परेका १४ जिल्लाका ११ लाख ४१ हजार छात्रछात्राको पढाइ र दैनिकी प्रत्यक्ष प्रभावित भएको रिपोर्ट 'शिक्षक' मासिकबाट प्राप्त भएको छ यसै गरि भूकम्पमा परी ६१८ जना बालबालिकाले ज्यान गुमाए भने ४१ जना शिक्षक र ३ जना विद्यालय सहयोगीको मृत्यु भएको छ । क्षति विवरण प्राप्त भए अनुसार वैशाख २८ गतेसम्मको आँकडाले भूकम्पका कारण देशभरिका ३,७८४ वटा स्कूलमा क्षति भएको र ३० हजार कक्षाकोठा भत्किएको देखाएको छ । शिक्षा मन्त्रालयले भूकम्पबाट स्कूल शिक्षामा रु. ५ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ । यस्तो क्षतिलाई सामान्य मान्न सकिने अवस्था पटक्कै रहदैन |
के मा भयो कमजोरी ?
ग्रामिण स्तरका बिद्यालयहरु र शहर केन्द्रित बिद्यालयहरुको क्षति विवरणलाई समष्टिगत रुपमा एउटा मात्रै डालोमा राखि हेर्न मिल्ने अवस्था छैन | गाउँस्तरमा स्थानीय श्रोत र सामग्रीबाट निर्माण गरिएका बिद्यालय भवनहरु जसमा सबलीकरणका बिधिहरु प्रयोग भएका थिएनन, त्यस्ता भवनहरुमा क्षति पुग्नु असामान्य होइन | त्यस्ता बिद्यालय निर्माण भएका स्थान विशेषमा हेर्ने हो भने भूकम्पीय जोखिम मात्रै नभएर अनेक विपदहरुबाट पनि सम्बेदनशील हुन सक्छन ती भवनहरु | भिरको छेउमा, खोलाको नजिक रहेका तेस्ता बिद्यालयहरु यसै पनि बहुजोखिमयुक्त क्षेत्रमा पर्दछन |
शहर केन्द्रित बिद्यालयहरुको अवस्था भिन्न छ | चोकैपिच्छे बग्रेल्ती सन्चालनमा आएका त्यस्ता अधिकाँश विद्यालयहरुमा न्यूनतम आधारभूत सुविधाहरु पनि नभएको पाइन्छ | बिद्यार्थीहरुको लागि पढाइको लागि आवश्यक सेवा सुविधा र आवश्यक खेल क्षेत्र त परको कुरा सुरक्षाको दृष्टिकोणले न्यूनतम व्यवस्था पनि नगरिएको पाइयो | यसपालिको भूकम्पले हामी सबैका बाबुनानीहरुको दोश्रो घर अत्याधिक क्षतिग्रस्त बनायो | सबैभन्दा बलियो र विपद प्रतिरोधी हुनुपर्ने त्यस्ता बिद्यालयहरु काँचका शिसा सरह टुट्दा अहिले राष्ट्र नै आहतमा छ | तथापि बिभिन्न दातृ संस्थाहरुको सहयोगमा सबलीकरण गरिएका काठमाण्डौ आसपासका १६० सरकारी बिद्यालयहरुमा क्षतिको मात्रा अत्यन्तै न्यून छ |

अप्रिल २०१३ को एउटा प्रतिवेदनले काठमाण्डौ आसपासका क्षेत्रमा निर्क्योल गरिएका ८३ वटा आपतकालीन खुल्ला क्षेत्रहरुमा धेरै जसो बिद्यालयहरु नै रहेका छन् | विद्यालयहरु नै हुन विपदको घडीमा आश्रयस्थलको रुपमा सबैभन्दा पहिले छनौटमा पर्ने भवनहरु | तर दूर्भाग्य ती स्कुल भवनहरु नै जोखिम प्रतिरोधी बन्न सकेनन र भूकम्पको धक्कासँगै ध्वस्त हुनपुगे | शहर केन्द्रित अधिकाँश बिद्यालयहरु निर्माणको समयमा व्यक्तिगत वा अन्य ब्यबसायिक प्रयोजनलाई भनेर डिजाइन गरिएका भवनहरुमा बिना कुनै पूर्वाधार सन्चालनमा आएका छन् | सामान्य भवन र बिद्यालयलाइ भनेर डिजाइन गरिने भवनहरु कदापि एकै हुँदैनन र विपद प्रतिरोधी पटक्कै बन्न सक्दैनन् |  
हामीले भवनहरु बनाउँदा भौगर्विक अवस्था तथा भू-उपयोग नीतिको कहिल्यै ख्याल गरेनौँ | भवन निर्माण निर्देशिकाले उल्लेख गरेको सेटब्याक छोड्ने, आफ्नो जग्गाको कति प्रतिशत भागमा मात्रै भवन बनाउने, प्लिन्थ एरिया र भवनको उचाईको अन्तरसम्बन्धलाई खासै महत्व दिएनौं | यी नियमहरु भवन बनाउँदा ध्यान पुर्याउनु पर्ने अत्यावश्यक नियमहरु हुन् | 

अब के गर्ने ?
ध्वस्त भएका बिद्यालयका संरचनाको बारेमा त भवन भत्काउनुको बिकल्प देखिदैन तर क्षतिग्रस्त बिद्यालयहरुलाई अनिवार्य रुपमा सबलीकरण (रेट्रोफिटिङ) नगरि सुचारु गराउनु हुदैन | बरु केहि समय पालमै बिद्यालय सन्चालन गराउन सकिएला तर नाजुक स्थितिमा रहेका त्यस्ता बिद्यालयहरु हतारमा सन्चालनमा ल्याइए अर्को अनिष्ट ननिमत्याउला भन्न सक्किन्न |
बिद्यालय सन्चालनमा ल्याइनु भन्दा अगावै सबै बिद्यालयहरुमा प्राविधिकको टोलिले निरिक्षण गरि आवश्यक कदमहरु नचालि स्कुलहरु सन्चालन गराइनु हुदैन | सबलीकरणको हकमा तत्कालै त्यस्ता बिद्यालयहरुलाई मर्मत गर्न सकिने अवस्था छैन भनेपनि बैकल्पिक व्यवस्था कार्यान्वयन गराई बिद्यालयका गतिबिधि अघि बढाउन सकिन्छ तर मर्मत नै नगरी सोहि बिद्यालयहरु संचालनमा ल्याइनु कदापि हुदैन |
हामीलाई यसपालिको भूकम्पले सिकाएको एउटा ठुलो पाठ भनेको अब बन्ने बिद्यालय तथा अत्यावश्यक सेवाका भवनहरु अनिवार्य भूकम्प प्रतिरोधी हुनैपर्छ | बिद्यालयहरु नयाँ दर्ता गर्दा अनिवार्य रुपमा त्यस्ता बिद्यालयले सन्चालनमा ल्याउने भवनहरु विपद प्रतिरोधी, अपाङ मैत्री, वातावरण मैत्री छन्/छैनन्, यथेष्ठ खुल्ला क्षेत्र छ/छैन छेक जाँच नगरि नियम्बन निकायले संचालन इजाजत दिनुहुदैन | न्युनतम आधारभूत आवश्यकता किटान गर्दा त्यस्ता भवनहरु भिरपाखा नजिक हुनु भएन, कुलो-कुलेसा ढल-नाला खोला नजिक हुनुभएन, भिडभाडयुक्त मूल सडक नजिक पनि हुनु भएन, अपाङ मैत्री बनाउन र्याम्पको व्यवस्था भएको हुनुपर्यो, यथेष्ठ खुल्ला ठाउँहरु भएको हुनुपर्यो, शौचालयको राम्रो व्यवस्था भएको हुनुपर्यो, प्रयोगात्मक शिक्षालाई बढावादिन धेरै भन्दा धेरै ध्यान दिइएको हुनुपर्यो, आपतकालीन अवस्थामा सुरक्षित ठाउँमा जान भिड नहोस् भनि एउटा कोठामा कम्तिमा दुइ ठाउँमा ढोका हुनुपर्यो र ती ढोकाहरु बाहिर खुल्ने खाले हुनुपर्यो | यी आधारभूत कुराहरुलाई ध्यान दिएर भवन बनाइनु पर्दछ |

प्राविधिक सल्लाह:
हाम्रा अब बन्ने भवनहरु जोखिम प्रतिरोधी हुनुपर्यो | यसका लागि स्थान चयन सबैभन्दा महत्वपूर्ण हुन्छ | भवन बन्ने भागलाई नजिकको भूभागभन्दा उच्चो बनाउनु पर्दछ ताकी वरपरको पानी जम्मा हुन नपाओस | भवन निर्माण गर्न प्रयोग हुने सामग्री यथासक्य स्थानीय तर उच्च गुणस्तरको हुनुपर्यो साथै हलुका भैकन पनि बलियो अनि टिकाउ हुनुपर्यो | भवन निर्माण सम्हिताको सुक्ष्म प्रयोग भएको हुनुपर्यो | भवनहरु ध्वस्त हुनाको प्रमुख कारणहरु मध्येको एक भनेको यसका जोर्नीहरु बलियो नहुनु पनि हो | भवनहरुको जोर्नीहरुलाई बलियो बनाउन आवश्यक मात्रामा उचित सामग्रीहरुको प्रयोग तथा प्राविधिक ज्ञानको भरपूर उपयोग हुनुपर्यो |
अत्यावश्यक सेवाका यस्ता भवनहरु धेरै अग्ला बनाइनु राम्रो हुँदैन | तथापी अवस्था अनुरुप आवश्यक मजबुती प्रदान गर्न सकिए त्यस्ता भवनहरु केहि तल्ले बनाइनु हुन्न भन्ने होइन | खुल्ला मैदान धेरै हुने भनेको चाहिँ प्रशस्तै जग्गा प्रयोग गरिएको होचा भवनहरुमा नै हुन् | जसलाई जोखिम प्रतिरोधी बनाउन अझै सहज हुन्छ साथै विपदका समयमा तत्कालिन खतरा पनि धेरै हुदैन | विपदको समयमा अझै बढी जोखिममा हुने भनेका अपाङ्गता भएका व्यक्तिहरु, बालबालिका, बृद्ध, महिला आदि हुन | यस्तो अवस्थामा छिटोभन्दा छिटो उनीहरुलाई सुरक्षित स्थानसम्म पुर्याउन होचा भवनहरुमा अझै बढी सहज हुन्छ |
अब बन्ने निर्माण विपद प्रतिरोधी हुनुपर्यो | तर त्यसो भन्दैमा सबै भूभागमा उस्तै प्रविधि र सामग्री प्रयोग गर्नुपर्छ भन्ने होइन | स्थान अनुरुप स्थानीय सामग्रीको बढावा दिदै र त्यहाँको माटो, हावापानी सुहाउँदो निर्माण सामग्री र पद्दति प्रयोग गरेर निर्माण मजबुत र जोखिम न्यूनीकरण गर्न सकिने निर्माण गर्न सम्भव छ |
सवलिकरण गर्नुपर्ने भवनहरुको हकमा प्राविधिक रोहबरमा यथेष्ठ ज्ञान र शिप भएका सिपालु कर्मीहरुको प्रयोग गरेर भवनहरु बलियो बनाइनु पर्दछ | बिद्यालय भवनहरु बलिया भए मात्रै पौरखी आमाबाबुहरु निर्धक्क रुपमा आफ्ना बालबालिका बिद्यालय पठाएर आफु राष्ट्रनिर्माणमा योगदान दिन सक्छन |

यस लेख नेपाल खबर पत्रिकामा प्रकाशित भएको हो |   

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More