Thursday, June 13, 2013

कथादेश – २


गुरुकुलको स्थापना कालतिर अनुप बरालले साथीहरु सँग मिलेर ‘कथादेश’को मन्चन गर्दा उनले पक्कै सोचेका थिए होलान कि उनले नाटकका बिध्यार्थी साथीहरुलाई सक्दो परिस्कृत गर्दै गराउंदै पेश गर्दै जानेछु | हिजो ‘कथादेश २’ हेरिरहँदा उनको त्यो प्रयास साकार भएको प्रस्ट देखें | कथाकार महेश बिक्रम शाहका दुइ कथाहरु  ‘भेनिस कि बुढी’ र ‘हान् घण्टा हान्’ लाई एक्टर्स स्टुडियोका १३ औं र १४ औं ब्याचका साथीहरुले बडो न्याय गरेका छन् | आशान्त शर्माले निर्देशन गरेको नाटकमा प्रतिक र बिम्बहरुको बेजोड तालमेल देखिन्छ | स्टेज लगभग खालि देखिन्छ केहि कुर्सिहरु बाहेक, तर कलाकार साथीहरुको तारतम्यले यति सजिव देखिन्छ कि नाटक, सार्है मनमोहक |

‘भेनिस कि बुढी’ एक कर्कस बुढी आमैलाई केन्द्रबिन्दु बनाइ प्रस्तुत गरिएको नाटक हो | बुढीकि घरछेउमै अल्फान्जो (रेष्टोरा मालिक) ले फ्ल्याट भाडामा लिएर आफ्ना कामदारहरु राखेको छ | लोप्साङ तिनै कामदारहरु मध्ये एक हो | लोप्साङ र साथीहरु त्यो फ्ल्याटमा बस्ने बाहेक त्यसको उपभोग अल्फान्जोले आफ्ना प्रेमीकाहरु सँग ऐयासी गर्ने काममा पनि गर्छ | अल्फान्जोले ती बुढी आमैलाइ कहिल्यै देखि सहन्न भने लोप्साङ चाहिँ बिस्तारै बुढी आमै प्रति आकर्षित हुँदै जान्छ र आफ्नै आमाको प्रतिमूर्ति देख्न थाल्छ | लोप्साङ बिस्तारै नजिकिदै जान्छ र कथाले नाटकीय मोड लिन्छ, त्यसपश्चात के हुन्छ भन्ने जान्न नाटक हेर्नैपर्ने हुन्छ |


नाटक : कथादेश २; भेनिसकि बुढी 

नाटकको प्रस्तुतिमा देखिने कलाकारहरुको हाउभाउले नाटक सार्है अर्थपूर्ण बनाएको छ | नाटकमा ७ पात्रहरु देखिन्छन, सबै यति सजिब कि छिनमै ती टेबुल कुर्सि बन्छन, छिनमै च्यानल गेट र छिनमै डुंगा र सबैथोक | इटलीको सुन्दर शहर भेनिसको कल्पना गरि लेखिएको कथालाइ लगभग भेनिस नै पुर्याउन बडो मेहेनत गरेका छन् प्रकाश संयोजन तथा परिचालनमा दिया मास्के र उमेश तामाङले भने ध्वनि ब्यबस्थापनमा देव न्यौपानेले |

दोश्रो कथा ‘हान् घण्टा हान्’ प्रवासी नेपालीहरु जो अमेरिका पुगि आफ्नो भाग्य खोजिरहेछन, उनीहरुमा केन्द्रित छ | न्युयोर्कको एउटा फ्ल्याटमा ६ भाइ नेपाली साथीहरु बसिरहेको ठाउँमा नेपालमा एक सरकारी कार्यालयमा उपसचिव भैसकेका अधबैंसे पुग्छन | सबै जानेबुझेका भैकन पनि नेपाली घुम्ने कुर्सि छाडि डिभीको लोभमा परि अमेरिका पुगेका हाकिम साप, आलाकाँचा केटाहरुको अगाडि अध्बेश्रो बन्नपर्दा खिन्न पनि बन्न पुग्छन | शहर घुम्न जाँदा बिश्व प्रख्यात अमेरिकी ल्याण्डमार्कहरु हेर्न जान खोज्दा त्यहिँका बासिन्दा केटाहरुले समेत सो धरोहरहरु देख्न नपाएको भन्ने जान्दा अचम्म मान्छन | अमेरिकामा बेफुर्सदीको कारण भनेको चाहिँ घण्टा हान्न पर्ने र बेलामा घण्टा नहाने खाने बस्ने जोहो गर्न धौ धौ हुने नै हुन्छ | अमेरिकामा घण्टा घण्टा काम गरेबापतको पैसा पाइने भएकोले नाटकमा घण्टा हान्ने बिषयले बिशेष जोड पाएको छ | अमेरिकामा नेपालीले नेपालीलाइ नै भेट्दा तर्केर हिड्नुपर्ने अवस्थालाइ पनि देखाइएको छ | अमेरिका बसाइमा बिस्तारै अभ्यस्त बन्दै गएका नेपाली उपसचिव ज्युलाइ एउटा अनौठो काम मिल्छ, त्यो पनि साथीको सिफारिसमा बल्लतल्ल | यसरि अमेरिका भनेको आम सोचाइमा भएको सुन फल्ने देश होइन भनेर त्यहिँको दु:ख देखाउन खोजिएको छ |


नाटक : कथादेश २; हान् घण्टा हान्

यहाँ पनि स्टेजमा लगभग केहि पनि हुन्न र पनि अमेरिका कै एउटा फ्ल्याटको चित्रण सजिलै गर्न सकिन्छ | ध्वनि, दृश्य र लाइटको संयोजन सार्है राम्रो संग गरिएको छ | थोरै श्रोत र साधनमा पनि राम्रा नाटक बन्न सक्छन भन्ने देखाउन सक्षम छ ‘कथादेश २’ |

आम दर्शकलाई कहिँकतै प्रस्तुति अलिक यौन उत्तेजक लाग्न पनि सक्छ, तर त्यति पचाउन सक्नुपर्ने अवस्था आइसकेको छ | प्रस्तुतिका क्रममा केहि थोरै कहिँकतै पात्रहरुको सम्वाद अड्किएको पाएँ, जुन नाटकमा लगभग स्वाभाविक नै हो | नयाँ नाट्यकर्मी साथीहरुको उत्साहलाइ देख्दा यति धेरै फड्को मार्न सफल नेपाली रङ्गमन्चबाट अझ धेरै आशा गर्न सकिने सुनौलो भविष्य देखिन्छ | 

जय रङ्गमन्च, जय रङ्गकर्म | 

मलाई त बेजोड मन पर्यो नाटक, कति मनपर्यो भनेर चाहिँ भो-नकुरागरम | 

1 comments:

Ravi Aaharya said...

मलाई त ब्लग नै मन पर्यो.. अब यस्तो राम्रो ब्लग लेखिएको नाटक कति राम्रो होला.. (y)

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More