डिग्री माइला


लगभग २ बर्षपछी आज बल्ल नाटक हेर्न जाने साइत जुर्यो | मलाई नाटक हेर्न औधी मनपर्छ, तर कैले के नमिल्ने कैले के | केहि साथी मिलेर अकस्मात बनेको 'डिग्री माइला' हेर्ने योजना सफल पार्न  कुदिहाल्यौ सिंहदरबार पुर्बगेट नजिकै रहेको मण्डला थियटर | थोरै पूर्वाधारका साथ नै भएपनि सुरु गरिएको थियटरले 'गुरुकुल'को न्यास्रो मेटाउन हरदम प्रयास गरेकोछ | 

Banner : Degree Maila

गाउँ गाउँ र  ठाउँ ठाउँको कहानी हो यो "डिग्री माइला" | हरेक गाउँमा एउटा न एउटा माइला जस्तो पात्र सर्बत्र हुन्छ | केहि पढेलेखेको र देश विदेश घुमेको र आफ्नो कहानी सुनाउन र गाउँलेलाई नयाँ कुरो बुझाउन संधै उद्दत | गाउँमा कति धेरै मिल्ती हुन्छ, तेती नै झगडा हुन्छ, फेरी मिल्छन | धेरै रमाइलो छ माइलाको गाउँ पनि | गाउँमा धेरै के नै हुन्छ र ? मेलापात र निर्माणमा लागिपर्छन र एकअर्काको गर्जो टार्छन अनि फुर्सदको समयमा तास खेल्दै अनि रक्सि खाएर होहल्ला गर्छन र आफ्नै किसिमले मनोरन्जन गर्छन |

Degree Maila : Villagers Tribune


गाउँमा उनीहरुले धेरै मेहेनत गरेर पहरा फोरेर मोटरबाटो बनाएका हुन्छन | गाउँलेले सिन्दुर जात्रा गरेर गाडी भित्र्याउने सपना बोकेका हुन्छन तर उनीहरुको सपना तुहिन्छ जब पिके सरले केहि गाउँले बोकेर सदरमुकामबाट ट्रयाक्टर लिएर गाउँ पस्छन | गाउँमा ठुलो हल्लीखल्ली हुन्छ र उनीहरुको ठुलो सपना तुहिएकोमा उनीहरुले सबै भद्रभलाद्मी तयार पारेर एउटा बैठक बस्छन | गाउँमा एकले अर्कालाई खुट्टातान्ने प्रवृत्ति यहाँ देखाइएको छ | सार्है रमाइलो बैठक बस्छन, अनेक तर्क, अनेक बितर्क |
Degree Mailo: Villagers' meeting

माइलाले नजानेको कुरा धेरै कम होलान, उसले आफ्नै मेहेनतमा एउटा अज्ञात डिग्री लिएर गाउँ फर्केको छ | सबैले जान्ने सुन्ने भनेर मानेका छन् माइलालाइ | उ पनि गाउँलेलाइ वरिपरी राखेर आफ्ना अनुभवहरु सुनाइरहन्छ | त्यो भन्दा बढी उसमा सपना छ, बर्षेनी १७ हजार डिग्री पास गर्नेहरूको एक्लो प्रतिनिधि- जो नियतिले वा बेरोजगारी समस्याले आक्रान्त छ। उसले देखेका सपना आफ्नो गाउँका लागि छन्, आफ्नो समाजका लागि छन्। रक्सीको सहारामा बाँचिरहेको डिग्री माइलो आदर्शवादी पात्र जस्तो लाग्छ कहिलेकाहीं।

गाउँका नयाँ पुस्ताका युवाहरुलाई शहरिकरणले झ्वाम्मै छोपेको छ | उनीहरुको सचित्र बर्णन गरेका छन् युवाहरुले | उनीहरु हिरो बन्ने, नाच्ने र गाउँने रहरले पुरै डुबेका छन् | नाटकको रिहर्शल गर्ने क्रममा उनीहरुले माइलालाई भेट्छन र माइला नाटक देखि सिनेमा सम्मको अर्ती दिन भ्याउँछ | केटाहरु नाटकको डाइरेक्सनको जिम्मा उनैलाइ सुम्पन्छन |

Degree Mailo : Boys discussing

माइलाले सपनालाई पहिले देखि नै मन पराउँथ्यो | सपनाभित्र पनि माइला प्रति सुसुप्त प्रेम लुकेको छ | तर ऊ माइलासँग धेरै नै रिसाएकी छे, सायद उनीलाई छोडेर धेरै समय बाहिरिएकोले होला | माइलालाई बखते (सपनाको बाबु)को भट्टीमा गएर पिउन खुब मन पर्छ, भट्टी त बहाना न हो, ऊ हरदम सपनालाई आफुतिर लोभ्याई रहन्छ |


माइलाले गाउँलाई स्वर्ग बनाउने तरिका जानेको छ र साथीभाईलाई आफ्नो योजना सुनाइरहन्छ | गाउँमा बिदेशीहरु भित्र्याउने र पर्यटनको प्रचुर सम्भावना देखेको छ उसले | त्यो सँगै गाउँमा हुने प्रगतिले मोहित बनाएकोछ माइलालाई | तर यो सबैलाई रोकेको छ माइलाको धेरै पिउने बानीले, त्यसैले त सपना झनै बढी चिढिएकिछे ऊ सँग | तर पनि जब मायाँ मिश्रित भावहरुले माइलाले रक्सि माग्छ, ऊ नदिरहनै सक्दिन र थप्दै जान्छे प्यालामाथि प्यालाहरु, बोत्तलमाथि बोत्तलहरु |

Maila's Ideas sharing

डिग्री माइलाका सपनाहरूमा गाउँलेहरूले आफ्ना सपना जोड्छन्, खुशीका पलहरू सम्झिन्छन्। सपनाहरू सफल हुनु नहुनु बेग्लै कुरो तर डिग्री माइलाले गाउँलेहरूलाई सपना देखाएको छ। गाउँलेका सपना र डिग्री माइलाका सपनाहरू भताभुंग पार्दै गाउँमा एउटा घटना घट्छ, जसले गाउँलेहरूमा सपना पुरा गर्ने चिन्ता थपिएको छ। उनीहरुको गाउँ सुधार्ने सपना के सफल होला त ? माइलाले आफ्नो बुद्धिमता के कसरि प्रदर्शन गर्ला हेर्न दर्शकहरु नाटकघर सम्म भने पुग्नै पर्ने हुन्छ |

नाटक एकदमै बास्तबिकताको धरातलमा अडिएको देखिन्छ | यसो हुनमा बल थपेका छन् जीवन्त प्रस्तुती दिएर नाट्यकर्मीहरुले | गाउँका ठेट लवज र शैलीहरुको भरपूर प्रयोग भएको छ, यसमा कलाकारहरु स्याबासीका पात्र भएका छन् | केहि नयाँ अनुहार पनि छन् नाटकमा तर उनीहरुको प्रस्तूती जीवन्त नै छ | बिर्खे काका र शान्तिराम नाटकमा प्रमुख आकर्षण भैरहन्छन | छिनमै मिल्ने र छिनमै झगडा गर्ने उनीहरुको बानीले दर्शकलाई लोभ्याईरहन्छ | कथाले दर्शकहरुलाई पूर्ण अवधि भरि नै बाँधेर राखेको छ | सार्है राम्रो बनेको छ नाटक, यध्यपि कहिँ कतै केहि कलाकारहरु त देखिन्छन कथामा, तर उनीहरुको भूमिका ज्यादै न्यून छ | प्रविधि संयोजनमा यथेष्ट मेहेनत गर्न सकिने ठाउँहरु देखिएका छन्, त्यसप्रति ध्यान जान आवश्यक छ | नाटकमा सांगीतिक समुह "आधा सुर"ले नाटकै भरि आफ्नो उपस्थिति जनाईरहन्छ मधुरो संगितका साथ, जुन सार्है सह्राहनीय छ | 

धेरै नाटकहरु मन्चन हुने "गुरुकुल"को केहि समयलाई 'मध्यान्तर' भएपश्चात मण्डला थियटरले धेरै राम्रा नाटकहरु पस्किरहेका छन् | मलाई पनि नेपाली मूलधार र फरकधारका सिनेमाहरुले भन्दा कैयौँ गुणा बढी नाटकहरुले नै आकर्षित गर्छ | नेपाली नाट्य क्षेत्र अझै बढी फलोस, फुलोस .... शुभकामना ||

डिग्री माइला : कलाकारहरु ;
विजय बराल, शारदा अधिकारी, बुद्धि तामाङ, सोमनाथ खनाल, उमेश तामाङ, बिकास जोशी, मोहम्मद नाजिर हुसैन, भवेश पराजुली, सुलक्षण भारती, सुरज यादव, सृजना अधिकारी, आर्जेश रेग्मी, सिर्जना सुब्बा, प्रदिप कुमार चौधरी र सायद अशोक |

नाट्य आलेख : सायद अशोक 
परिकल्पना तथा निर्देशन : दयाहांङ राई

फेसबुकमा मण्डला थियटर  

आभार : @anantabrt

Comments

  1. मैले त नाटक नहेरेको त धेरै पो भो त अब नेपाल आउँदा चाहिं मिल्यो भने जानुपर्ला ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required