Sunday, February 17, 2013

जाग यूवा

हामी आखिर कहिले सम्म हाम्रा असफल राजनीतिज्ञ, नेता भनौदा र कर्मचारीतन्त्र तिर दोष थुपारेर, उनीहरुले केहि गर्न दिएनन र त हामीले केहि पनि गर्न सकेनौँ भनेर हरेश खाएर बस्ने ? ठिक समय कुर्दा कुर्दै त्यो सबैथोक मिलेको दिन त कहिल्यै आउन्न, एकथोक मिले अर्को नमिल्ला | त्यसैले सानो बाट सुरु गर्ने, आजै किन नगर्ने ? 

१) देशमा आजको सबैभन्दा ठुलो समस्या भनेको लोडशेडीङ नै हो | तर तपाइँले याद गर्नुभएको छ ? यो अब बिस्तारै देशको समस्याबाट हटेर शहरहरुको समस्यामा सिमित हुँदैछ | गाउँगाउँ त बिस्तारै आफैँ झिलिमिली हुँदैछन्, कत्ति भैसकेका छन्, अरु कत्ति हुने क्रममा छन् | गाउँ गाउँमा त्यहिँ उपलब्ध ज्ञान, शिप र लगनको उच्चतम उपयोग गरेर मानिसहरुले लघु जलबिध्युत आयोजना, सोलार इनर्जी र बैकल्पिक उर्जाका स्रोतहरु : हावा, बायोग्यास आदिको प्रयोग गरेर गाउँ नै झिलिमिली बनाइसके | स्वच्छ हावापानी र बत्ति बिजुली भएपछी गाउँ स्वर्ग बन्दैछ | देश विदेशसँग प्रतक्ष्य सम्बन्ध स्थापित गर्न गाउँ गाउँमा इन्टरनेट पुग्दैछ | हामी शहरबासी भनेर धाक धक्कु लगाउनेहरु बिहान उठेसी बेलुकी नसुतुन्जेल स्वच्छ हावा, सफा पानी, बिजुली र इन्टरनेटकै खोजीका निम्ति भौंतारीरहन्छौँ | 

गाउँमा त्यो सबै सम्भव छ भने शहरमा जहाँ भनिन्छ देशैभरिबाट जान्ने बुझ्ने मान्छे आएर थुप्रेकाछन्, त्यहाँ उनीहरुले चाहे सम्भव नहोला त गाउँमा सम्भव भएका कुरा ?? नयाँ हाइड्रोपावर नै संचालन गर्न नसकिएला, तर सोलार पावरलाइ प्राथमिकता दिन सकिन्न होला र ? टोल टोल मिलेर हामीले नै फाल्ने फोहोर संकलन गरेर सो बाट बायोग्यास उत्पादन गरेर हामीले नै उर्जाको रुपमा प्रयोग गर्न सकिन्न होला त ?  एउटा घरलाइ पुग्ने एउटा एयर टर्बाइन राख्न नसकिएला त ? बिजुली भए त सबैथोक भैहाल्छ नि, त्यै भएन भनेर आफैलाई धिक्कार्नु भन्दा बैकल्पिक उर्जाको खोज र अनुशन्धान गरौँ न | 


Household Air Turbine

२) शहरहरुमा अरु व्याप्त समस्या भनेको स्वच्छ सफा पिउने पानीको हो | एउटा तथ्याँकले काठमान्डौको दैनिक पानीको माग भनेको तीन करोड लिटर रहेको देखाएको छ, जसमध्ये सरकारी संयन्त्रले दैनिक एक करोड लिटर मात्रै वितरण गर्न सकेको देखाएको छ | काठमान्डौको कुल जनसंख्या ४० लाख हाराहारी मान्ने हो भने सो ३ करोड लिटर पानीको दैनिक माग पनि जम्मा ७.५ लिटर प्रति व्यक्ति प्रति दिन भनेको विश्व स्वास्थ्य संघ (WHO) ले निर्धारण गरेको प्रति व्यक्ति, प्रति दिनको पानी खपत भन्दा धेरै नै कम हो | अझ यति हुँदा हुँदै पनि सरकारी संयन्त्रले स्वच्छ पानी वितरण गरिरहेको छ भन्नेमा चाहिँ बिश्वास गर्ने आधार कतै छैन | यस्तोमा के गर्ने त ? संधै झैँ झोक्राएर त के नै हुन्छ र ? अहिले Rain Water Harvesting का बिषयमा धेरै नै बहसहरू भएका छन्, जुन पक्कै सान्धर्भिक हुनेछ | वर्षामा पर्ने झरिलाइ हामीले संचित गर्ने र त्यसबाट पिउन बाहेकमा प्रयोग हुने कार्यहरुमा मात्रै प्रयोग गर्ने र अझ घरघरमै वा समुदाय समुदायमा Water Treatment Plant को अवधारणा विकास गरि सो पानीको पुन:प्रयोग गर्ने हो भने अहिले जतिको भयावह अवस्था कदापि आउने छैन | 

Rainwater Harvesting 

अब वर्षायाममा त पानी जति भए नि जम्मा हुन्छ नि, हिउँदमा पो त हो नि खडेरी हुने भन्ने लाग्नु पनि त स्वाभाविक नै हो | तर बिस्तारै जब पानीमा आत्म निर्भर हुन थालिन्छ, तब सरकारले दैनिक ३ करोड लिटर छुट्याउनु पर्ने पानीको माग पनि त घट्दै जान्छ नि | सबैले यस्ता उपाय अबलम्बन गरे त स्वच्छ सफा पिउने पानी मात्रैको माग त धेरै कम हुन्छ, जुन सरकारले पनि सजिलै थेग्न सक्छ |

३) पेट्रोलियम पदार्थको उत्पादन हाम्रो देशमा अहिले सम्म हुँदैन/भएको छैन | सम्भावना होला नहोला तर सत्य के हो भने हामी पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खानापकाउने ग्याँसका लागि भारत संग पूर्णरुपमा निर्भर छौँ | केहि समय सो को उत्पादन बिभिन्न कारणले गर्न नसकौंला, तर बैकल्पिक रुपमा सो बाट प्राप्त हुने उर्जाको प्रयोग अवश्य गर्न सक्छौँ | नेपाली युवाहरुले केहि बर्ष अघि सजिवनको तेल बाट डिजेल उत्पादन गरेर गाडी गुडाएको उदाहरण हाम्रै अघि छ, सो अवलम्बन गर्न सके धेरैथोरै उर्जा अवश्य प्राप्त हुनेथियो |  खाना पकाउन महङ्गो ग्याँस नै किन प्रयोग गर्ने, सस्तो र सजिलो सोलार हिटर प्रयोग गर्न सकिन्न होला त ?

Parabolic Solar Cooker 

सोलार कुकर बारे अरु थप जान्न यहाँ क्लिक गर्नुहोस | 


४) देशमा रोजगार भएन भनेर विदेश लर्को लाग्ने जमातका दैनिक जसो त्रिभुवन बिमानस्थलबाट हल्लिने बिदाइका हातहरुले यदि कामलाइ ठुलो सानो भनेर बर्गीकरण नगरि देशमै पसिना चुहाउने हो भने देशले छिट्टै काँचुली फेर्नेथियो | हाम्रो संस्कारले नै हामीलाई कामको बर्गीकरण गर्न सिकाइदियो कि हामीले शैक्षिक योग्यता अनुसारको काम गर्न महिनौँ वा बर्षौँ डिग्री काखी च्यापेर अनेकौँ कम्पनि चाहार्न सजिलै सक्छौँ तर आफ्नै आँखा साम्मुन्ने आप्रवाशीहरुले हामीबाटै उच्च मुनाफा कमाइ अघि बढाई रहेका ब्यापार वा अझै भनौँ रोजगारीको पनि अनुसरण गर्न सक्दैनौं | देशलाइ सम्मुन्नत बनाउन आफैँ पहिले अब्बल बन्नु पर्छ र आफु अब्बल हुन आफ्नो योग्यता अनुरुपकै मात्रै जागिरका लागि अन्तर्वार्ता मात्रै दिएर नि हुन्न, आँखा सम्मुन्ने देखिएका अवसरहरुको सहि सदुपयोग गरे पुग्छ | 

५) समाजमा हत्या, हिँसा, आतंक बढेको बढ्यैछ | यसको कारण भनेकै पापी पेट न हो | जब कोहि भोको हुन्छ, उसले आफ्नो भोक तृप्त पार्न अनेकौँ उपाय सोच्न थाल्छ र जन्मन्छ कुकृत्यहरु | हाम्रै वरिपरी देखिने सडक बालकहरुले दुइपेट खान पाउँथे भने किन सुलोशन सुँघेर दिन कटाउँथे होलान र ? उनीहरुको अवस्थालाइ हामीले आज देखेर पनि नदेखे झैँ गरि आफ्नो समस्या हैन भनेर टार्यौं भने भोलि समाजमा उनीहरुले नै घटाउने घटना दुर्घटनाका लागि हामी आफैले आफैँलाइ दोष दिने कि नदिने ? "जब भोक कराउंछ, तब स्वाभिमानले घुँडा टेक्छ" र बिस्तारै कुकृत्यहरु गर्ने आँट पलाउँछ र बिस्तारै सो नियति बन्छ र समाजमा हत्या, हिँसा र आतंक बढ्छ | टोलटोल र छिमेकमा देखा परेका यस्ता टुहुरा सडक बालबालिकाहरुका निम्ति आश्रयस्थलको व्यवस्था गराउने गर्यौँ र मायाँका भोका उनीहरुलाई थोरै मायाँ दिनसक्यौँ भने यो समस्या त्यति भयावह हुनपाउने छैन | 

राजधानीमा बेरोजारी पिडित एक जमात यस्तो छ जुन सडक छेउमा दिनै भरि उभिएर धुलो खाएर दिन बिताईदिन्छ | त्यसैले त सानो निहूँ पाउने बित्तिकै सडकहरुमा टायर बालिन्छ, बाटो पुरै बन्दहुन्छ र उस्तै परे शहर र देशै ठप्प हुन्छ ... बिना कुनै ठोस कारण र मुक दर्शक बन्न बाध्य हुन्छ सरकार | सबैलाई रोजगारी र आफ्नो कामप्रति उत्तरदायी बनाउन सके यस्तो समस्या कहिल्यै आउन्नथ्यो |


देशमा केहि कामको लागि पनि समय नै उपयुक्त छैन, केहिको पनि सम्भावना नै छैन भनेर अब नबसौँ | सानो ठुलो जे सकिन्छ, आजै बाट सुरु गरौँ .... आफु बनौँ, मुलुक आफैँ बन्छ | 

जाग युवा ||

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More