Saturday, April 28, 2012

अखण्ड मुलुकको पक्षमा

देशैभरि सम्बिधान बन्ने नबन्ने दुबिधाका बिचमा अल्मलिएको प्रमुख कारण 'संघियता'का बारेमा अत्ति भएर केहि नलेखिरहनै सकिन | संघियताको खास अर्थ सोध्न मन छ मलाई त, मौका मिले लाइन लगाएर सबै नयाँ पुराना नेतालाई सोध्ने थिएँ | देशलाई उ बेलै देखी ५ विकास क्षेत्रमा छुट्टयाएको देशका हरेक भूभाग एकै राज्यप्रणालीबाट संचालन गर्न सम्भब छैन भनेर नै त बिभाजन गरेको कुरा किन भुलेका होलान नेताहरुले ? अनि फेरी ५ विकास क्षेत्रमा बिभाजित भए पछि नै पो के नै विकास अनुभव गर्न पाए र कुना कन्दराका नेपालीले ? यहाँ बुझ्न के जरुरि छ भने ५ भागमा बिभाजन कागजमा त गरियो, नक्सामा गरियो तर व्यवहारमा गरिएन | राजधानीमा केन्द्रित सुख सुबिधा राजधानीमै सिमित भयो र दुर दराजका जनता अन्धकारमै थन्किए | थमिसक्नु भएन अनि देशैभरि बाट जनता काठमान्डौमा थुप्रिन आए, अनि न काठमान्डौ ~ राजधानी जस्तो रह्यो न अरु ठाउँको केहि जीवनस्तर सुध्रियो | अझ १०~१२ जे जे भने पनि लम्बिएर १६ बर्ष पुगिसकेको यो माओबादी आन्दोलनले गर्दा त देशको विकास त परको कुरा विनाश नै रोक्न नि कोहि सफल भएनन | त्यसैले त देश झन झन ठुलो भड्खालोमा जाँकिदैछ दिन पछि दिनदिनै |
यहाँ भन्न खोजिएको कुरा के हो भने देशलाई बिभाजन गर्दैमा, यति भाग त उति भाग भन्दैमा देशमा युगान्तकारी परिवर्तन हुने होइन | जनताले अवसर नै पाएनन, जसले पाए उनले जनतालाई हेर्ने कुरै भएन अनि त देश र जनता भड्खालोमा न जाकिए अर्थोक के होस् ? तर यसबाट फाइदा पाईरहेका केहि सिमित बर्गहरुले तमासे बनेर आफ्नो भुँडी भर्ने र दुरदराजका दु:खी पिडित जनतालाई सपना देखाउने बाहेक अर्थोक केहि काम गरेनन | यस्ता सपना देखाईएका छन् कि मानौँ देश संघियतामा गएको भोलिपल्टै हुम्ला,जुम्ला,डोटीमा खाने तेल नुन लिन जुम्लेली, डोटेली र हुम्लेलीले ती फोस्रा डाँडामा पैंठेजोरी खेल्दै ज्यानको बाजी लाएर खुट्टा चाल्ने र चुचा ढुँगा भएका बेगवान खोला तर्नै पर्दैन | आखिर सपना बाँडेकै भरमा आफ्नो भलो नै भलो हुन्छ भने किन उसै गर्दैन र मानिस ? भएकै त्यहि नै त हो |
अझ अहिलेको कुनै पनि सचेत बर्गलाई चित्तै नबुझ्ने कुरा भनेको त देशलाई जातियताका आधारमा संघियतामा लाने रे | कति गम्भीर कुरो हो यो, तर सायदै कोहि नेतालाई यसको दुरगामी असरका बारेमा थोरैमात्रै पनि ज्ञान छ | म त भन्छु, कसले दियो इजाजत देश टुक्र्याउन यी नेताहरुलाई ? जहाँ जहाँ राजनीतिक निर्णय भएका छन् ती देश भनेका त हुतु र तुत्सीको रुवाण्डा, उत्तरी र दक्षिणी कोरिया हुन्छन नि | अझ अफगानिस्तान र इराक हुन्छ देश, जहाँ एउटा भागको इराकीलाई इराककै अर्को भागमा प्रवेश गर्नै पनि इजाजत छैन | देख्यो कि मृत्यु | कति भयावह होला देश यदि जातियताका आधारमा टुक्रिए (?) अहिले अखण्ड भएको भनिएकै देश नेपालमा त पहाडमा मधेसी हेपिन्छन, मधेसमा पहाडे लखेटिन्छन | यदि त्यसो भए त मानिसको बर्ण, आकार, आँखाको आकार प्रकारको आधारमा भेदभाव हुन्न भन्ने के ग्यारेन्टी भयो र ?
सोच्नुस त तपाईं बाहुन वा मगर भएकैमा शेर्पा समाजको राज्यमा जान निर्धक्क रहन सक्नु भएन भने ? शेर्पा साथीहरु मधेसमा नुनतेल किन्न जाँदा मधेसमा रहेका साथीहरुबाट हिनताबोध गराइए ? मैले त भयावह अवस्था पो देख्छु त देशको | फेरी अहिले जति जातका आधारमा सहमति भएर देश टुक्र्याइयो, केहि समय पछि सो भूभागमा बस्ने अरु जातिले पनि उस्तै अधिकार खोज्दै उनीहरुको आर्कै छुट्टै राज्यको माग राख्दै आन्दोलन गरे के होला ?
यति सानो त छ देश | माथि मेची देखी तल महाकाली | देश नै आफ्नो अस्तित्व खोज्दै डगमगाइ रहेको यो समयमा अझ यसलाई खण्डित पारेर झनै नातागत बनाउनु भन्दा सबै मिलेर अखण्ड रहेर एकता नै बल हो भन्ने तर्क अघि सार्नु पर्ने हैन र अहिले त ? बिश्वको मानचित्रमा अमेरिकाको अस्तित्व नै रहँदा देखि धेरै शिल्पकला, बास्तुगत भौगोलिकतामा कहलिएको देश अहिले अरु सबै देशको विकास बृद्दी भएर कहाँ पुगेको बेलामा नेपालको कहालीलाग्दो स्थिति देख्दा त हामीलाई नै हिनताबोध भएको यो अवस्थामा अझै देश टुक्र्याउने निर्णय गरेर झनै खण्डित मानसिकता बोकेर त देशको स्थिति पो कस्तो होला, आफैँलाई दया लागेर आउँछ | मुलुक संघियतामा गए अहिलेको स्थितिमा त देशले कर्मचारी तन्त्रकै आर्थिक भार बहन गर्न सक्दैन, अहिलेकै स्थितिमा त देश चलाउन बिदेशी दात्रीसंस्थाको मुख ताक्नु पर्ने यस्तो स्थिति छ, अझै देश संघियतामा गए क्षेत्रपिच्छेका मन्त्रि, एवम् रितका कर्मचारी आदि आदि | पहिले आर्थिक क्रान्ति गरेर भरिपूर्ण भएपछि पो देशमा अझै बिकास गर्न यो क्षेत्र भन्दा उ राम्रो, उ भन्दा उ राम्रो पार्न पो संघियता आवश्यक हुने होइन र ? जब सम्म सेती ले धौलागिरीलाई र महाकालीले मेचीलाई हेलत्व गरिरहन्छे तब त नेपाली कै अस्तित्व रहन्न, कताको खण्ड खण्ड जात जातीको रहला र ? 
फेरी देशलाई संघियता आवश्यक नै परेको हो भनेपनि राजनैतिक निर्णयले संघियता गर्नु कदापी सहि हुन सक्दैन | संघियता त भौगोलिक, जनसंख्याका आधारमा सो सम्बन्धि विज्ञहरुको गहिरो खोज र अनुशन्धानका आधारमा सो को दुरगामी असरहरुलाई विचार गरेर पो गर्नु पर्दछ | यहाँ त व्यक्ति व्यक्ति बिच कुरा बाझिएको छ, पार्टी पार्टी बिच फरक विचार छन्, पार्टीभित्रकै पनि गुट उपगुट पिच्छे फरक विचार छन्, अनि के कुरामा सहमति हुनु, अनि के को संघियता, के को सम्बिधान | यसो उसो गर्ने अनि मूल बिषयबाट जनताको ध्यान हटाउने र फेरी संबिधान सभाको म्याद बढाउने र फेरी निश्चित बर्गले फाइदा लुट्ने र देश डुबाउने नीतिकै पुनरावृति भैरहेछ | र हामी जनता आफैँमा खण्डित मानसिकता बोकेर हिड्ने हो भने त फेरी तिनै हामीलाई लुट्ने नेताहरुकै कठपुतली नाचमा नै त रमाईरहने भयौँ नि हैन ?
देशमा  चरम आर्थिक सङ्कट छ, चरम उर्जा सङ्कट छ , बिस्तारै जनताको क्रय क्षमतामा ह्रास आएर खाध्य सङ्कट हुने लगभग निश्चित छ, एउटा बिशालकाय कालो भुमरीले निल्नै लागेको छ नेपाली आकाशलाई | यस्तो उराठलाग्दो समयमा त सबै नेपाली हातेमालो गरेर नेताहरुलाई अखण्ड राष्ट्र बनाउन खबरदारी गर्नुपर्ने हैन र |? फेरी हामी त आफैँमा टुट्दैछौँ | देशलाई यति टुक्रा पार र उति टुक्रा पार भन्दै उक्साउँदैछौँ , फेरी नेताहरु त उनीहरुकै प्रपन्च सफल भएकोमा झनै खुशी पो हुँदैछन् नि | स्थिति सार्है भयावह भैसक्यो, लौ न सबै मिलेर सोचौँ र देशलाई दुर्गतिको बाटोमा जान रोकौँ न ...... आफ्नो आफ्नो स्थानबाट सबैले सक्दो खबरदारी गरेर अहिलेको प्रमुख बिषय सम्बिधानलाई टुङ्गो लगाउन नेताहरुलाई झक्झक्याऔँ न | संघियताको बिषय मात्रै बाँकि राखेर अरु सबैमा सहमति गरेर सम्बिधान जारि गराओ भनेर नेताहरुलाई मातृभूमि प्रति जिम्मेवार हुन पहल गरौँ न |
गर्व साथ सबैले दौरा सुरुवाल र ढाका टोपीमा सजिएर शिर ठाडो पारेर 'म नेपाली' भन्न पाइयोस र पो शान रहन्थ्यो बिश्वसामू संसारकै उच्च शिर सगरमाथाको ||

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More