Monday, July 11, 2011

घुस दिऔं, रकम जोगाऔँ !!


सकेजति घुस दिनुहोस, भलाई नै यसैमा छ | अब जन्मिने बेलामै यसो घुससुश दे'र अलि गज्जब देशतिर जन्माईदिन पहल गर्नुभा'भए पो अहिले पुर्पुरोमा हात लाउँदै बगली छाम्न पर्दैनथ्यो त नि | अब जुन सरकारी कार्यालय जानुहोस न, खल्ती भरेर जानोस, फर्किदा रित्तै | रित्तै जानुहोस, खर्च त हुन्न ~ तर सजिलै हुने कामलाई महिनौँ धाउनु पर्छ | नियति नै यस्तै छ नेपालको, कल्लाई भनेर कल्ले सुन्ने ? अनि सोझो गरेर नियममा बस्न खोज्नेहरुको हविगत त सबैले थाहा पाईहाल्नु नै भा'छ बङ्गलादेशमा कार्यरत नेपाली राजदुतको व्यथा | बरा राजदुतको कमाइ बाट राज्यलाई दायित्व बन्न आउने कर तिर्न खोज्दा झण्डै जागिरनै चट | बङ्गलादेशबाट नेपाल झिकाइएका छन् क्यारे उनलाई | सायद अलिकति यसो घुस दिएर आफ्नो कर राज्यलाई बुझाउने कोशिस गर्न उनि चुके, नत्र त उनको चेक उनैलाई किन फिर्ता पठाइन्थ्यो होला त नि ? 

अब कुरा गरौँ न आफैले भोगेको | एकपल्ट घुस दिन नखोजेर म ठुलै ठाउँमा फस्याछु | कुरा ६५ साल माघ महिनाको हो, केहि कारणबश कम्पनि रजिष्ट्रारको कार्यालयमा पुगेथें | आफुले लगेको एक फाइल हेरेपछी एक खरदार सापले सो को मुल्य रु १०,००० तोके | मैले त मौन स्वीकृति जनाई सक्याथें र सो रकम दिएर काम फत्ते गराउने सोचिसक्या थिएँ | तर साथै जानु भएको मेरो दाईले भने सो कुरो मान्नु भएन र नियमवश हो भने जति पनि तिर्ने तर घुस नदिने भन्नु भएपछी फाइल लिएर रजिष्ट्रारलाई भेट्न पुग्यौँ | उनले खरदारलाई बोलाइ हकारे, मेरा दाई मख्ख परे, सोचे घुस त तिर्न परेन | उनलाई लाग्याथ्यो होला अब काम पनि बन्छ र पैसो नि जोगिन्छ, तर ठ्याक्कै २ घण्टा कुरेपछि हाकिमकै कार्यकक्षमा खरदार साप उपस्थित हुँदै २२ हजार रुपैयाँ लाग्ने विवरण खुलाए | अब भने दाईको पनि मुख रातो भयो, खरदार भने घुरेर मलाई हेर्दैथिए | सोचे होलान आलाकाँचा केटाहरुले हामीलाई सिकाउने ? भएछ के भने, कम्पनि रजिष्ट्रारको कार्यालयमा नियमनै यसरी बनाइएको हुने रहेछ कि त्यहाँ आउने सेवाग्राही ठुलो मोलको जरिवाना नतिरी फर्किनै नमिल्ने | यहाँहरु नि पर्नु भएको भए अवश्य ताजै छ होला स्मृतिमा | धेरै धेरै जरिवाना तिराउन मिल्ने नियम नै हुने रहेछन त्यहाँ, अनि हरेक शिर्षक बमोजिमको पैसो जोडिदै जाने | ठुलो बिबाद पछि रु २२००० तिर्नै पर्ने देखियो, र तिरियो | तर सजिलै हुँदा ३ दिनमा बन्ने काम, सो रकम तिरे पश्चात पनि नवौँ दिन पछि मात्रै पूर्णरुपमा सो कार्यालयबाट बिदा मिल्यो | नेपाली कार्यालयको काम गराई बाट दिक्क मान्दै मेरो दाजु धिक्कारिरहनु भयो, तर यहि बसेर अभ्यस्त भैसकेको मलाई भने मेरा दाजुले पाठ सिक्नु भएकामा खुशी लाग्यो, अब आइन्दा उहाँले सोझै घुस दिन पटि प्रेरित हुनुहोस भन्ने मेरो अभिप्राय थियो | आखिर देश अनुसारको भेष नगरी बाच्न सक्ने पो को र ? यहाँ म के स्मरण गराउन चाहन्छु भने, सो निर्धारित जरिवाना रु २२००० मध्ये पनि जम्मा १२००० को मात्रै सरकारी बिल प्राप्त भयो, यस अर्थमा रु १०००० भने मैले घुस नै दिएछु | यसरी जम्मा १०००० मा बन्ने कामलाई थप १२०००० तिर्दापनि म घुस दिनै बाध्य भएँ | यहाँनेर आउँदा पृथ्वी नारायण शाहको भनाइ 'घुस लिने र दिने दुवै देशका शत्रु हुन' लाई मैले नि पालना गर्दै देशको शत्रु नै हुन रुचाएछु, नत्र स्व. पृथ्वी नारायण शाहको आत्माले आएर मेरो फाइल सदर गरिदिने वाला थिएनन र परिस्थितिवश म बाध्यता एवं बिबस्थामा बाँधिएको थिएँ | यो त मेरो सानो उदाहरण हो, सोहि खरदार सापको छेउमा बसेका अर्का ना.सु.ले कान्तिपुर टेलिभिजनले तिर्नुपर्ने रु ४ लाखजतिको जरिवानाको टिप्पणी उठाउँदै थिए | यस्तै रहेछ चलन भन्दै पाइला फड्कार्दै त्यो कार्यलयबाट हिडेको सम्झना अझै ताजै छ | 

फेरी कर्मचारीले घुष खाए भनेर भन्नुमा नि मलाई उत्ति तुक चाहिँ कहिल्यै लागेन | यस्तो महंगाईमा सर्कारले तोकिदिएको न्युनतम मासिक तलवमा काम गर्ने त औंलामै गन्न सकिएला, अझ सोहि तलबमा सन्तुष्ट हुने त कोहि भए सच्चा सलाम गर्नेथिएँ | यदि त्यस्ता देशभक्त कोहि रैछन नै भनेपनि तिनका श्रीमती/बालबच्चाको खनखनबाट नि मुक्त रहेका चाहिँ कोहि छन् भने म आफ्ना दुवै काँन काटी भोगटेका पातमा सुर्य देवतालाई चढाउन राख्नेथिएँ | जुन धरातलमा हामी बाँचेका छौँ, सो भन्दा अलग ब्यबहार कसैलाई उतार भन्नु क्षनिकको बोलाइ मात्रै हुन जान्छ | असम्भब प्राय: छ यो समाजका लागि त्यस्ता आदर्श, जसले आफैलाई साक्षि राखी भन्न सकोस "मैले अहिले सम्म घुस लिने/दिने गरेको छैन" |    

म त भन्छु सुरुमै घुस दिने बानी बसालौँ | काम पनि बन्छ, खुशी दिल बोकेर टाइममै घर पुगिन्छ | बरु घुस दिनमा भने अलि विचार गरौँ न | घुस भन्दैमा यहाँ पैसा/रकम भने बुझिहाल्नु भएन | कैयौँ पटक मैले नै भोगेको छु, मिठो मुस्कानले नै घुसको राम्रो जोहो गर्छ | यदि अलि रिसाहा कारिन्दा पर्यो र मुस्कानले मात्रै पुगेन भने उसका कुरा खोतल्नुस, बरु बसोबासका कुरा गर्नोस, बालबच्चाका कुरा गर्नुहोस | नेपाली पाराका कुरा गर्नुहोस | त्यतिले नगुपे नेताहरुलाई बदख्वाइं गर्नुहोस, धेरैजसो काम बन्छ | सबैतिर नेताले केहि न केहि बिगारेकै हुन्छ, कारिन्दा सँग नाता लाउन काम लाग्छ | कुरा गर्दै जाँदा यदि कारिन्दा आफ्नै जन्मथलोका परेछन भने, त्यसै काम बनिहाल्छ | परेनन भने जिल्ला सोध्नुहोस, आफु पनि उहाँको जिल्ला घुम्न गएको राम्रा अनुभवहरु संगालेका कुरा गर्नुहोस | पक्कै दङ्ग पर्छन र काम गर्दिन्छन | कहिले काहिँ प्रभावकारी संचारले पनि असम्भव प्राय कामहरु फत्ते गरिदिन्छन | यदि यी कुनै उपायले पनि काम गरेन भने खुसुक्क खल्तीमा हात डुलाउनुस र आफ्नो गच्छे अनुसारको भेटि टक्र्याउनुस, काम अवश्य बन्छ | अनि कहिले कहिँ बोल्नै नभ्याउने कार्यालयका कारिन्दा परे, यथेष्ट लाइन बसी पैसा बुझाउनु परे भने चाहिँ जस्तो चलिआएको नियम छ उही पालना गर्दै तोकिएको मिति सम्म कुर्नुहोस, कत्ति ठाउँमा घुस बझाउनै पर्दैन | तर १५ दिनमा बोलाएको छ भने नेपाली पारा देखाएर ठुला ओहोदामा रहेका आफ्ना चिनेजानेका हाकिम/नेताहरुलाई फोन घुमाउने बानी पनि त्यागौँ | केहि कुरा सुन्नमा मात्रै राम्रा लाग्छन, हामी जहाँ उभिन्छौँ त्यहिँ बाट लाइन सुरु हुन्छ भन्नलाई चाहिँ कि अमिताभ बच्चन नै हुनुपर्यो हैन भने के.पि.वलि | 

यस्ता नचाहिने गन्थन कति लेख्नु है, घुसका कुरा कति गर्नु ! आफैँलाई दिक्क लागेर आउँछ ~ भो-नकुरागरम | 

1 comments:

Sweta said...

It really made me sad and it does always how we, citizens are cheated by our own fellowmen..

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More