अफवाह र यथार्थ


भूकम्प एउटा प्राकृतिक प्रकृया भएकोले र हामी भूकम्पीय जोखिमले भरिपूर्ण देशमा रहेकाले भूकम्प देखि डराउने, तर्सिने, आत्तिएर भाग्ने भन्दा यसलाई अस्वयम्भाबी प्रकृया हो भनि जानि बुझि यसले गर्नसक्ने क्षति न्यूनीकरण गर्न यथेष्ठ पुर्वतयारि गर्नुपर्ने पाठ हामीले अब सिक्नुपर्छ | भन्ने गरिन्छ जुन चिजले हामीलाई मार्दैन, त्यसले हामीलाई अझै बलियो बनाउँछ | यसपालिको भूकम्पले हामीलाई अझै बढी बलियो, दृढ र साहसी बनाएको छ, बिपत्तिको यस घडीमा देखिएको भाइचाराले हामी भित्र अन्तर्निहित निस्वार्थ स्वयमसेवा प्रस्फुटित गरेको छ |
समय समयमा बिज्ञहरुको कार्यदल तथा बिभिन्न रिपोर्टहरुले प्रस्तुत गरेका डरलाग्दा क्षतिका प्रक्षेपणहरुलाई हामीले विभिन्न कारणले वेवास्ता गर्न पुग्यौँ र अहिले यस्तो क्षति भोग्न बाध्य छौँ | तथापी हामी यस अर्थमा यो पालि भाग्यमानि हुन पुग्यौँ कि तेस्ता रिपोर्टहरुले पेश गरेका क्षतिको प्रक्षेपण भन्दा हाम्रो यथार्थ तथ्याङ्क निकै सानो देखिन्छ | भाग्यमानी यस अर्थमा पनि कि ठुलो भूकम्पपछी पनि सबैको सुझबुझ र धैर्यताले यथेष्ठ काम गर्न पाउँदा अत्यावश्यक आवश्यकताका सेवा सुविधाहरु (जस्तै विमानस्थल, अस्पताल, बिजुली, पानी, संचार, सडक, पुल) निर्वाद रुपमा सन्चालनमा आउन सके |
कति भयावह हुन्थ्यो होला स्थिति यदि यी अत्यावश्यक सेवाहरु केहि दिन अथवा महिनौँ बन्द हुन पुग्थे ? टर्किस एयरको भिमकाय बिमान त्रिभुवन विमानस्थलको रनवेमा ४ दिन दुर्घटनाग्रस्त अवस्थामा रोकिँदा मैले लेखेको थिएँ, "यदि निकट भविष्यमा नेपालमा आउन सक्ने प्राकृतिक बिपत्ति भूकम्पले त्रिभुवन बिमानस्थल अनिश्चित कालसम्म सेवा अवरुद्द हुनपुगे देशको हालत के होला?" | धन्न हामी त्यति धेरै दुर्भागी हुन परेन र ठुलो भूकम्पपछी पनि सेवाहरु यथासक्य छिटो सुचारु भए | भूकम्पपछि को पुर्वतयारिमा सबैभन्दा सतर्क गराइने भनेको 'आगोलागी'बाट जोगिने काइदाहरु हुन | हामी कति भाग्यमानी सावित भयौँ कि हामीले यस्तो विपदपछि कतै पनि आगोलागी भएको सुन्नु परेन |
बैशाख १२ को ७.६ म्याग्निच्युडको कम्पन शनिबार त्यो पनि दिउँसो जानुले हाम्रो भाग्य बलियो भएको जनाउछ | धेरै बिद्यालयहरु ध्वस्त भएका छन्, पढाई भैरहेको समयमा सो भूकम्प गएको भए कहालीलाग्दो तथ्याँक केलाईरहेका हुन्थ्यौँ हामी | यदि सो भूकम्प अरु कुनै बार अथवा रात्री समयमा गएको भए हताहती र मृत्युको सङ्ख्या ह्वात्तै बढ्ने कल्पना गर्न सकिन्छ | बैशाख २९ गते मङ्गलबारको ६.८ म्याग्निच्युडको ठुलो पराकम्पन पनि मध्यान्नमै जानु हाम्रो लागि राम्रो घटना हुन पुग्यो |
तेसो भन्दैमा हाम्रो भाग्य बलियो रहेछ भनेर ढुक्कले बस्ने अवस्था भने यो होइन | तपाइँ बस्ने भवन हालसम्म बस्न हुने/नहुने निर्क्योल भैसक्यो/हुँदै होला | तथापि खुल्ला आकाशमा त्रिपाल/पालमुनि सुत्ने हाम्रो सङ्ख्या दिनदिनै आउने पराकम्पनहरुले गर्दा घट्न सकेको छैन | यो दुखद कुरा हो | धेरै भवनहरुको निरिक्षण गर्ने क्रममा हामीले दुइ प्रवृत्ति हावी भएको पायौं | सामान्य अथवा धेरै न्यून क्षति भएका घरका बासिन्दाहरु पनि नानाथरीका हल्लाको पछि लागेर पालमा सुत्ने गरेको पाइयो भने केहि अत्यन्तै नाजुक अवस्थामा रहेका भवनहरुमा सामान्य टेका दिएर दैनिकी चल्न सुरु भैसकेको पाइयो | यी दुवै समाजका खतरा हुन् | एकाथरि पिडित नै नभएका बासिन्दाहरुले पाल ओगटेर आफ्नै जीवन कष्टकर बनाइरहेका छन् जसले गर्दा बास्तविक पिडित यो असामयिक झरीमा भिज्न बाध्य छन् भने अर्काथरी बहादुर नेपालीहरुले आफ्नो जीवन त धरापमा पारेकै छन्, अरुलाई पनि पिडित बनाउने पासो थापेर बसेका छन् |
 यसै बिच बिभिन्न विधाका बिज्ञहरुले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर अनेक गतिबिधि बढाई रहेका छन् भने केहि भुगर्वविदहरु सारा नेपालको रक्षा गर्ने मन्त्र आफैँसँग रहेझैँ गरि अब ८० देखि १०० बर्षलाई ढुक्क भो, भूकम्प जादैन भनेर हतार हतार निर्धक्क रुपमा लेखहरु लेख्दै आएका छन् | विद्वान तथा आदर्श बिज्ञहरुलाई मेरो सानो अनुरोध, आफ्नो योग्यताको आफै खिल्ली नउडाउनुहोस् | हामी बिभिन्न जाँच उपकरणहरुको अभावमा धेरै नै पछी छौँ, यथेष्ठ अध्ययन र अनुशन्धानहरु नै नगरि मनगढन्ते भविष्यबाणीहरु गरिदिदा जनतामा भय र त्रास कायमै छन् | साथै विज्ञ अधिकारिहरुले भूकम्प जाने प्रकृया र टेक्टोनिक प्लेटहरुको जानकारी आमजनतामा दिन कन्जुस्याई गर्दा पत्रकार साथीहरु गुगल बिश्वबिद्यालयको सहायतामा गहन लेखहरु लेख्न बाध्य छन् | यो कदापि सुखद होइन |
यसले सुसुप्त अवस्थामा रहेका ज्योतिषहरुको ब्यापारमा पनि निकै बढोत्तरी ल्याएको मैले पाएको छु | माफी चाहन्छु,  दोलखा भीमसेनको पसिना निक्लेर देशमा अनिष्ठ हुने मान्यता रहेको देशमा अंकगणितीय ज्योतिष बिज्ञानलाई मजाक बनाउने ज्योतिषहरु भूकम्पको भविष्यबाणी गरेर आफ्नै प्रतिष्ठा धरापमा राख्न व्यस्त देखिन्छन | उस्तै देखिए बिभिन्न बिषयका केहि बिज्ञहरु र बेमौसमी ज्योतिषहरु |
सामाजिक संजालहरुमा अहिले ब्यापक रुपमा देखिएको भनेको भवनमा सवलिकरण (रेट्रोफिटिङ) प्रविधि हो | "अल्पज्ञान भयङ्करम" | हो धेरै भवनहरु क्षतिग्रस्त भएका छन् | पहिलो चरणको स्वयमसेवी अभियानमा प्राविधिकहरुले सरसर्ती भवनहरु हेर्दा भवन बस्न योग्य छ वा छैन भनेर मात्रै जानकारी दिए | घरै पिच्छे फरक समस्या देखिनु सामान्य हो, त्यसैले केहि/धेरै क्षति भएका घरधनीहरुलाई यो समस्या निवारण गर्नु अहिलेको प्रमुख चुनौती हो | उनीहरु सार्है नै हतास देखिएका छन् र हतारिएका छन् | केहि भवनहरुमा हतार हतार टालटुले कामहरु सुरु गरिसकिएको पनि देखिएको छ | यो अवस्था अनुरुप घातक पनि हुनसक्छ | यदि तपाइँको मेरुदण्डमै समस्या देखिसकिएको भए बाहिरि आवरण, छालामा साजसज्जाको कुनै तुक हुँदैन | र जोड दिएर म भन्छु, यो नयाँ तथा पुनर्निर्माणको समय कदापि होइन | क्षतिग्रस्त भवनहरु पहिचान गरि तेस्ता भवनहरुमा थप क्षति नपुगोस भनि सचेत त हुनुपर्यो तर हतारमा लिपपोतका कार्यहरु गरिए स्थिति असामान्य बन्न सक्छ | कुनै पनि भवनमा कुन र कस्तो प्रकारको सवलिकरण प्रविधि प्रयोगगर्न आवश्यक छ भनि अध्ययन जरुरि हुन्छ | यस्तो बिस्तृत अध्ययन गरेर प्राप्त हुने रिपोर्टका आधारमा सबलीकरणका बिधि तय गर्न सकिन्छ |
केहि संघसँस्थाले रेट्रोफिटिङका अनेक बिधिहरु छयासछ्यास्ती बजारमा छरेका छन् | त्यहि हेरेर, देखेर हतास मनस्थितिमा रहेका घरधनीहरुले आफूखुशी सवलिकरण गर्न थाले अधकल्चो अवस्थामा रहेका क्षतिग्रस्त भवनहरु मान्छेमार्ने पासोमा परिवर्तन हुन सक्छन | भवनहरुको बिस्तृत अध्ययन नगरि सवलिकरणका बिधिहरुको प्रयोग गर्नुलाई कदापि सामान्य मान्न सकिन्न | फेरि पराकम्पन घटित भैरहेको यस घडीमा गरिने निर्माणहरु गुणस्तरिय नहुन सक्छन | भर्खरै निर्माणाधीन ढलानमा पराकम्पनको प्रभाव अझै बढी हुन्छ र अहिले निर्माणको चरणमा आएको भवनले अर्को यस्तै बिपत्ति व्यहोर्न सक्ने सामर्थ्य नराख्न सक्छ | धेरै सम्पति खर्चेर गरिने नयाँ तथा पुनर्निर्माण गुणस्तरिय बनोस |
विपदको यस घडीमा शोकलाई शक्तिमा बदल्न सक्ने सामर्थ्य सबैमा मिलोस तथा यस ठुलो भूकम्पले सिकाएको पाठहरुलाई गहन रुपमा लिएर अनेकौँ खोजहरु होउन | हामीले यस घडीलाई अवसरका रुपमा लिन सकौं, अब बन्ने भवनहरु भूकम्प प्रतिरोधी बनाउन सकौँ, सबैलाई शुभकामना |

यदि तपाइको घर नजिक अझै पनि प्राविधिकहरु आइपुगेका छैनन् र घरमा ढुक्कले बस्न सक्ने अवस्था छैनभने www.bhukampa.net मा गएर आफ्नो विवरण पेश गर्नु भयो भने सम्भव भएसम्म हामी यथासक्य छिटो हजुरको घरको निशुल्क निरिक्षण गर्न आइपुग्ने छौँ |
(न्यौपाने बेलायतको शेफिल्ड बिश्व बिद्यालयबाट भूकम्प प्रतिरोधी भवन निर्माण विषयमा सनातकोत्तर गरेका स्ट्रक्चरल इन्जिनियर हुन् | उनको समूहले भूकम्प डट नेट सन्चालन गरि जनमानसमा सेवा प्रदान गर्दै आएको छ|)     


Comments

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

यस्तो हुनुपर्छ बिद्यालय भवन

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development