धार्मिक क्रान्ति ~ सम्मुन्नत भविष्य - सम्भव छ ?


देश बनाउन गाह्रो छ भन्ठान्नुभाको ? केहि गार्हो छैन | एउटा रोल मोडल है त |

बास्तवमा हामी नेपालीहरु त्यस समयमा संसारकै सबैभन्दा अघि थियौँ, जब विश्वमा बिरलै अरु देशको उपस्थिति थियो | थाहा नै होला, नेपालमा पौराणिक कालमा बनेका धेरै मठ,मन्दिर, पाटि पौवा, देवस्थलहरु त्यस समयमा बनिसकेका थिए, जब निकोलसले अमेरिका पत्तै लगाएका थिएनन | मल्लकालिन नेपाल त स्वर्गिय युग नै थियो रे | बिस्तारै  नेपालमा लिछवीकालिन, मल्लकालिन गर्दै शाह बंशिय राज्य परिवर्तनहरु हुँदै गए | देश अझै पनि स्वर्गकै एउटा अंश झैँ लाग्ने खाले थियो रे | इतिहासमा पढ्न मात्रै पाइने त हुन नि यी कुराहरु, तर अब त्यो सब कहाँ ? सबैलाई यस्तै त लाग्छ नि निराश र निरस बन्दै गएको नेपाली अवस्था देखेर हैन ? तर मेरो मनमा अर्कै कुरो खेल्दैछ आज | 

साच्चै नेपाललाइ फेरि बिश्वकै सबैभन्दा सुन्दर देश बनाउन सकिन्छ भन्नेमा म त बिश्वस्त छु | तर आवश्यक छ, इश्छाशक्तिको | एक दुइजनाको मात्रै इच्छा भएर कहाँ हुन्छ र यस्तो आशम्भव प्राय: लाग्ने कहानीलाइ पूर्णरुपमा कार्यान्वयन गर्न ? सम्पूर्ण नेपाली एक भएर खालि एउटै सपना सम्बृद्दशाली नेपालको देख्ने हो भने, त्यो समय टाढा पनि छैन, जुन दिन हामी सबै नेपालीले हामी नेपाली हुनुमा फेरि गर्व गर्नेछौँ | रोजगारीका निम्ति दिनहुँ सयौँ कर्मठ युवा बिदेशिनुपर्ने र दैनिक बिसौं युवा काठका बाक्सामा स्वदेश फर्किनु पर्ने बाध्यता रहनेछैन | हो मैले त एउटा ठुलो सपना देखेको छु, सम्मुन्नत नेपालको दिवा सपना | 


बास्तबमा हामीसँग जे छ त्यसमा हामीले कहिल्यै गर्व गर्न सकेनौँ, कदापि हामीले अपनाएनौँ ती सुन्दर भविष्य प्रति डोर्याउन सक्ने अनुपम साथहरुलाइ | एकफेर सोच्नुस त हाम्रो देश मल्लकालमा Golden Era भनेर चिनिन्थ्यो भने अहिले किन यस्तो भएको होला यो देशको हालत ? हामी नेपालीहरु किन यति धेरै बिभाजित भएका हौंला अहिले ? मेरो विचारमा हाम्रो देशमा नेता धेरै भए र कार्यकर्ता बिभाजित भए | धेरै थरिका धेरै विचार एकै ठाउँमा पोखिए र सोझा साझा जनता कुहिराका काग बन्न पुगे, अनि सपना ठुला देखेर अलमल्लिए | अनि हाम्रो सबैथोक हरायो, न राष्ट्रियता रह्यो, न स्वतन्त्रता | केवल हामी पिछलग्गु भैरह्यौँ | नेपालमा स्वर्णिम काल चलिरहँदा हामी नेपालीको आस्था, बिश्वास र धर्म भनेकै देश, राजा र इश्वर थिए | सबैले आफ्नो स्थानबाट लागि परेर आफुले सक्ने योगदान गर्थे र त बिश्वमै अन्त कतै नभएको काष्ठकला, मूर्तिकला आदिले शोभायमान बनाएको थियो नि देश | अहिले पनि हामी नेपालीले नेपाली हुनुमा गौरवगर्ने हाम्रा धरोहरहरु नियाल्ने हौँ भने तिनै समयमा बनेका उच्चतम नमूना बाहेक अहिले त के नै बनेका छन् र ? उ समयमा बनेका धरोहरहरु हाम्रो सामु मुसुक्क हाँसेर उभिएका छन्, र हामी नयाँ धरोहरको निर्माण त कहाँ हो कहाँ, आफैँ आफैँमा टुक्रिएर दिनदिनै झनझन छिया छिया बन्दै जाँदैछौँ | अब सोच्ने बेला आएको छ | समय संधै बलवान हुन्छ, उ बेलामा हामी एक धर्म मान्थ्यौँ, नाइके एक हुन्थे, सबै नेपाली उसैलाइ मान्थे र त उन्नति सम्भव थियो | 

तर मेरो विचारमा अहिलेको स्थिति पनि हामीले गम्भीर भएर सोच्ने हो भने हाम्रै पोल्टामा छ समय | उ बेला थोरै थियौँ हामी नेपाली, तर सबैको आस्था एक थियो, धर्म सबैले एकै मान्थे | तर अहिले हेर्नुस त, हामीमा झनै बढी बिबिधता ब्याप्त छ | हामी अब संख्यामा बढेका छौँ, सबै जातजाती धर्ममा आस्था राख्ने हामी सबै नेपाली नेपालमा त छौँ नै, उसैगरि बिश्वभरि ब्याप्त छौँ | र अझै पनि हामीले नेपाली हुनुमा गर्व गर्न सकेका छैनौँ | हामी सँग जे छैन, त्यसैका पछी लागेर, ठुला सपना देखेर सम्भावनाहरुलाई निमिट्यान्न पार्दैछौँ | अहिले हामी नेपाली सँग भएको सबैभन्दा ठुलो शक्ति भनेको धार्मिक, सांस्कृतिक, भौगोलिक बिबिधता हो - यिनको बुद्धिमानि पुर्वक व्यापक उपयोगिताले नेपाललाई साच्चै सम्मुन्नत बनाउन सम्भव छ भन्नेमा म बिश्वस्त छु | 



प्रकृतिले नेपाललाई जति अरु कुन देशलाई दिएको छ ? न अत्यन्तै गर्मि हुन्छ नेपालमा, न नै कठ्यान्ग्रिएर मर्नु नै पर्छ | प्राकृतिक छटाहरुले भरिपूर्ण छ नेपाल, आहा अझै अनेकौँ बिबिधता ब्याप्त छ नेपालभरि जताततै | यसै बिबिधतालाई प्रयोग गर्न सके नेपाल साच्चै फेरी सबैभन्दा राम्रो देश भनेर चिनिन सक्छ | हाम्रो सबैभन्दा ठुलो शक्तिलाई हामीले पहिचान गर्न नसकेका हौँ | हाम्रो देश बिश्वमै अलौकिक हिन्दु धर्मावलम्बीहरु भएका र अनेकौँ हिन्दु धर्मस्थलले भरिपूर्ण भएको देश, अरु धेरै केहि गर्नै पर्दैन, भएका धरोहरहरुको पहिचान गरेर तिनीहरुको सम्रक्षण गर्ने, अनि बिश्वभर रहेका हिन्दु धर्मावलम्बीहरुको प्रमुख गन्तब्य स्थल नेपाललाई बनाउने | नेपाल त बुद्धको जन्मभुमि, बुद्धलाई भारतियहरुले आफ्नो हुन् भनेर विश्वभरि डंका फुक्दै हिड्दा फेसबुकमा बुद्धको नाममा नागरिकता जारि गर्ने बाहेक अर्थोक के काम गर्यौँ र हामीले बुद्ध नेपालमा जन्मिएका थिए भन्नलाई ? लुम्बिनी विकास समिति भनेर केहि निर्माण कार्यहरु हुँदैछन् केहि समय यता | तर हेर्नुहोस त, ती सबै निर्माण कार्यहरु बिदेशीले आएर गरेका छन् | हामी अब यति दुर्बल भयौँ कि हामी जुन कुरामा गर्व गर्छौं, सो को निर्माण समेत श्रीलंका, भारत, तिब्बत आदिले गरिदिनु पर्ने ? अनि कसरि हुन्छ नेपाली बुद्धको पहिचान ? नेपाली हामी सबै मिलेर लुम्बिनीमा एउटा ठुलो बुद्धको मूर्ति निर्माण गरौँ, बिश्वकै सबैभन्दा ठुलो बुद्ध मूर्ति | बिश्वभरि छरिएका बौद्ध धर्मावलम्बीहरुका लागि प्रमुख गन्तब्य स्थल बन्न सकोस नेपाल | त्यो ठुलो बुद्ध मूर्ति, यस्तो एउटा सम्पदा बन्ने छ कि बिश्वभरि नै नेपालको शान नै बेग्लै हुनेछ | 



त्यस्तै नेपाल धार्मिक बिबिधता भएको देश भएपछि पछिल्लो समयमा इसाई धर्मावलम्बीको पनि बाक्लै उपस्थिति भैसकेको छ नेपालमा | नेपाली नेपाली बिच धर्मको नाममा बिभिन्न प्रचारहरु भए, नेपालीहरु टुक्रिदै गए भनेर अफवाह फैलाइएको छ, यसैलाई शक्तिमा किन नबदल्ने ? एउटा यशुको ठुलो चर्च निर्माण गरौँ न नेपालको जुन कुनै स्थानमा | छरिएर रहेका नेपाली इसाई धर्मावलम्बीको प्रमुख गन्तब्य स्थल त हुन्छ नै, बिश्वकै कहलिएका इसाई धर्मगुरुलाई नेपालमा स्वागत गरेर सो गिर्जाघरको उद्घाटन गराऔँ न | उनको आगामन संगै लाखौँ उनका अनुयायीहरुले पनि थाहा पाउन कि नेपालमा तेती भव्य चर्चको स्थापना भएछ र उनीहरुका ती कहलिएका गुरुले गएर उद्घाटन गरेको चर्च | विश्वभरि बाट इसाईहरु नेपाल भ्रमणमा लाग्ने छन् | नेपाल भ्रमण सँगै रोजगारी, अवसर र नेपालीको भविष्य भित्रिनेछ नेपाल | 



शाह बंशिय राजाहरुले पनि त ठुलो योगदान पुर्याए नेपाललाई नेपाल भनेर चिनाउन | समय सँगै पछिल्ला समयमा शाह बंशिय राजाहरुका सन्ततिमा जति नै परिवर्तन आएर देश राजतन्त्र बाट गणतन्त्र तिर उन्मुख भएतापनि पृथ्वीनारायण शाहको एकीकरण अभियान उ बेलामा सार्थक भएको हुन्थेन भने के हामीले अहिले आफैँलाई नेपाली भन्न पाउथ्यौ  त ? उनै राजाहरुका सम्झनामा एउटा राजा स्मारक किन नबनाउने | जहाँ बिरताका पहिचान हाम्रो देश निर्माणमा अभिन्न अंगका रुपमा रहेका राजाहरुका पूर्णकदका मुर्तिहरुले शोभायमान एउटा अनुपम उधान होस्, जसको भ्रमण हरेक नेपालीले त गर्छन नै विश्वभरमा रहेका नेपालप्रति चासो राख्ने बिदेशीहरुले पनि नेपालको इतिहास जान्न सो ठाउँको भ्रमण गर्नेछन | शाह बंशको उपस्थिति खाँ'हरु बाट भएको बिश्वास गरिन्छ, उसै अनुरुप नेपालमा मुस्लिम धर्मवालम्बीहरुको पनि उपस्थिति बाक्लिँदै गएको छ | इसाई धर्म चिनाउन गरिएको प्रयोग झैँ मुस्लिम समुदायको आस्था रहने एउटा ठुलो मस्जिद निर्माण गरेर कहलिएका मुसलमान धर्मगुरुलाई नेपाल बोलाएर उद्घाटन किन नगराउने ? बिश्वभरि मुस्लिमहरुको बाहुल्यता छ, उनीहरुको आस्था र बिश्वास कति धेरै बढ्नेछ नेपाल प्रति | सबैले नेपाललाई चिन्ने मौका पाउने छन् | 



यसरि सबै धर्मका मानिसहरुका लागि नेपाल प्रमुख गन्तब्य स्थल बन्न सक्छ | हो धार्मिक बिबिधता नेपालको लागि साच्चै सम्मुन्नती तर्फ डोर्याउन सक्ने कडी बन्नसक्छ | धेरै भन्दा धेरै मानिसहरु नेपाल भित्रिएसँगै नेपालीहरुका लागि अवसरहरु भित्रिनेछन् नेपालमा | नेपालमा रहेका प्राकृतिक सम्पदाबाट मोहित भएका पैसावाल बिदेशीहरुले बिभिन्न अरु सम्भावना देख्लान नेपालमा | चरम बिधुत सङ्कट भोगिरहेको नेपालमा बिधुत प्रति कसैले नसोचेको लगानी हुनेछ | ८६ हजार मेगावाट बिधुत उत्पादन गर्नसक्ने हैसियत भएका हाम्रा खोलानालाले आफु नेपालको भुमि भएर त्यसै खेर गैरहेको जलले नेपाल त झिलिमिली हुनेनै छ, छिमेकी बिदेशी मुलुकहरु समेत फाइदामा रहलान, अझै धेरै बिजुलीको बिक्रि गरेर नेपालले अनुपम आर्थिक सफलता पनि हाँसिल गर्नेछ | धर्मका नाममा भित्रिने नेपालीहरु जसलाई सगरमाथा बारे केहि थाहा नै छैन, उनीहरुलाई सगरमाथाको लालित्यले अनुगृहित गर्ला | सगरमाथा बारे जानकार जो कोहि नेपाल आउला, उ नेपालमा रहेको धार्मिक बिबिधता देखेर मोहित होला र बिश्वभरि गुणगान गाउला | उत्तरमा रहेको चीनले नेपालमा आफ्नो सेवा विस्तार गर्ला, नेपालले चीनलाई प्राकृतिक छटाहरुले स्वागत गर्लान | भारतका धर्मवालम्बीहरु पशुपति, गोसाइकुण्ड, मुक्तिनाथ भ्रमण गर्थे नै त्यसपश्चात लुम्बिनीमा बुद्ध, धनगढीमा गिर्जाघर र सर्लाहीमा मस्जिद पनि भ्रमण गर्न जालान | 

साच्चै धेरै सम्भावना भएकैले होला नेपालले कुनै एकमा सोचे अनुरुप उपलब्धि हासिल गर्न नसकेको | यहाँ प्रस्तुत गरिएको त धार्मिक बिबिधताले सम्मुन्नत नेपालको कल्पना मात्रै हो, अरु पनि अनेक सम्भावना कति छन कति नेपालमा ! यसो गर्यो उसो गर्यो नेपाली राजनीतिमै गएर कुरो टुंगिन्छ, राजनैतिक इच्छाशक्ति हुँदो हो त यो धार्मिक क्रान्तिले अवश्य देश निर्माण गर्ने थियो | देशलाई संघियतामा लाने भनेर धेरै नै हल्लीखल्ली भयो, जातीयताका आधारमा देशको कोलाहल मच्चाउनु भन्दा त लुम्बिनीलाई बुद्ध प्रदेश घोषणा गरुन, जनकपुरलाई सीता प्रदेश | त्यस्तै कतै अल्लाह प्रदेश, कतै येशु प्रदेश | अनि पो सबैले उसको भन्दा मेरो प्रदेश राम्रो बनाउछु भनेर मरिमेट्नेछन् र देश झनै सम्मुन्नती प्रति लाग्थ्यो नि | फेरी यो जातपातक आधारमा मान्छे चिनिने भनेको त हाम्रै नेपालमा मात्रै हो, नेपाली भुमि छाडेसी मानिसलाई कि त राष्ट्रियताका आधारमा चिन्छन, नत्र भने धर्मका आधारमा | फेरी सबै धर्म एकै स्थानमा उच्चतम नमूनाको रुपमा पाएसी बिदेशीहरु अच्चाम्मित भएर कति आकर्षित हुँदा हुन् नेपालमा | 

 धार्मिक आस्थाका मात्रै कुरो पनि के गर्नु र खै, ठुलो हुने रहेछ राजनैतिक इच्छाशक्ति .... भो-नकुरोगरम ||

Pics : Google (none is mine)

Comments

  1. सकारात्मक सोच राख्ने हो भने र चाहने हो भने सब कुरा सम्भव छन् बिरोध मात्रै गर्ने हो भने त यही लेख माथि धार्मिक आस्थाका कुरा देखि राजतन्त्रको समर्थन गरेको सम्म भनेर बिरोध गर्न सकिन्छ । हरेक कुराका राम्रो पक्षलाई समर्थन गर्ने बानीको बिकास गरौं । शिक्षाप्रद लाग्यो लेख । तर हाम्रो बानीको त के कुरा गर्नू भो नकुरा गरम् :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required