हाम्रा नेता चोर हुन #HNCH


उनीहरुलाई हामीले संधै काखी च्यापि रह्यौं | ४६ सालमा काखी च्याप्यौं, उनीहरुलाई नै माथि पुर्यायौं, जनता जहाँ को त्यहीँ | ६२/६३ मा काखी च्याप्यौं, राजतन्त्र फाल्यौं, बिडम्बना ~ एउटा राजा सति गयो, केहि समय मख्ख पर्यौं, खुशी धेरै समय टिक्नै पाएन, यिनीहरुको चर्तिकला देख्दा त एउटा राजालाई बिदा गराएर सयौं राजा पो जन्माएछौँ हामीले | बोलिका ठेगान नभएका राजा, राजसी ढांचा देखाउने राजा, मान्छे पिट्दै हिड्ने राजा, धन-धान्यले भरिपूर्ण भएका राजा, जनतालाई नै चुसी जनताकै अगाडी डकार्दै हिड्ने महान राजा, सरकारी प्राडो-पजेरोहरु आफ्नै सम्पति झैँ मानि क्वाप्लाक्कै निल्ने राजा, सत्ताकै लुछाचुंडी गरिरहने राजा, जनताको लागि भन्दै सत्तामै रहेर पनि बारम्बार नेपाल बन्द जस्तो घोर पाप गरिरहने राजा | गल्ति हामीले गरिसक्यौँ अब सुधार्ने मौका आएको छ, अहिले पनि जागेनौं र सुधार्नपट्टि लागेनौं भने अब कहिल्यै केहि हुनेवाला छैन | त्यै बीर गोर्खालीका सन्तान भन्दै शिर ठाडो गरेर हिड्ने दिन गए ….. नेताहरुले जति मुर्ख बनाउँदा पनि सहेर बस्ने लाछी नेपाली भनेर सबैले भन्दा हामीले चाल पाउनेछौँ, साच्चै हामी को हौँ, के रहेछौं भनेर | अस्थिरता ले यति गाँजिसक्यो कि अब त केहि पनि स्थिर देख्न पाइदैन | न पानी आउँछ घरमा, न बिजुली ~ न पेट्रोल पाइन्छ, न बजारमा ग्याँस ~ सक्नेले थिचीरहेकै छ, महङ्गीले डाडो काटेको त कहिले हो कहिले |
अस्थिरताका कुरा गरेर त महाकाब्य नै बन्छ, भो त्यति बिघ्न नि न-कुरागरम ! अझ यति हुँदाहुँदै पनि अचेलको सबैभन्दा सुलभ संचार माध्यमहरुले संधै फुक्ने गर्या’छ, कर तिरौं प्रकार पनि अनेकन ~ ब्यबसाय कर, घर-जग्गा कर, आम्दानी कर, घरभाडा कर ! सबै कर समयमा तिरौं राष्ट्र निर्माणमा सहभागी होऔं ~ माफी चाहन्छु महोदय, राष्ट्र निर्माण होइन राजा निर्माणमा सहभागी हुने हो भने कर तिरौं | राष्ट्र त जहि को तहीँ छ, राजाहरु हुँन सप्रेका, मोटाएका, हलक्क बढेका | नत्र त हुम्ला जुम्लामा नि बाटो पुग्दो हो, दुर्गम जति सबै सुगम हुँदो हो, काठमान्डौमै पनि हरेक बाटाहरु चिल्ला हुँदा हुँन, सबैले पेटभरी सफा र स्वच्छ पानी पिउँन पाउँदा हुन, पैसा तिरेरै पेट्रोलियम पदार्थ किन्न घन्टौं लाइनमा बस्न नपर्दोहो ~ अझ अरु बिकासनिर्माणका कुरा त कति छन् कति |
यसै समयमा आएर अब संबिधान सभाको म्याद थाप्ने कसरत जोडतोडका साथ भैरहेछ, यो म्याद मात्रै लम्बाएर हामी संबिधान बन्ला र सुख चैंनका साथ बसौंला भनेको चाहिँ दुस्वप्न हो हामी जनताको | यसले केवल ती राजाहरुलाई पोषण गर्न सहयोग पुर्याउनेछ, अर्थोक केहि हुनेवाला छैन | म्याद थपिए जेष्ठ १४ २०६९ का दिन फेरी अर्को एक बर्षको लागि म्याद थाप्ने प्रस्ताब आउने हो, संबिधान बन्ला भनेर आश नगरे हुन्छ |
आखिर कहिले सम्म निदाएर बस्ने हौँ हामी जनता ??? हामी के सहि के गलत निर्क्योल गर्न नसक्ने बिबेकशुन्य जनता भएका छौँ | देशमा स्थिरता र बिकासका लागि केहि सहि गर्ने हौँ भने दवाब बढाऔं, संबिधान बनाउन म्याद थप्ने पर्छ भने बिना तलब र भत्ता काम गरेर देखाओ, प्रतिबद्द होओ भनेर दवाब दिऔं | जागौं, उठौ, लौ न अब त केहि गरौँ | म चाहिँ अब बाट हाम्रा नेता चोर हुँन भन्ने अभियानका साथ लागि पर्याछु | यो अभियान तबसम्म जारि रहन्छ जबसम्म हाम्रा नेताहरु आफ्ना जनता प्रति बफादार हुदैंनन | Hamra Neta Chor Hun #HNCH
यस्तो कुरो गर्दै हिंड्यो, यो नि नेता बन्न लाए’छ क्यारे भनेर चाहिँ भन्न नपाइ नि ! यो त साझा नेपालीको बोलि हो भनेर भन्दिउँ क्याहो ? यस्तो कुरो नि के गर्ने र खै, भो – नकुरोगरम !

Comments

  1. ठीक कुरो हो । बंशज भएनन् अहिलेसम्मलाई; शौख, ब्यबहार र फुर्ती त बडा महाराजकै छ नि यिन्का ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required