सफलता एच. आइ. भी. शिक्षा सदन


जीवनमा गल्ति कसले पो गर्दैन र ? फेरि मानव भएर जन्मिए पछि गल्ति नै नगरे त के सार्थक भयो र जीवन ? अनि गल्ति बाटै नै त हो नि सिक्दै जाने, जीवनका अनेकौँ पाटाहरु | फेरि गल्ति गरिए पश्चातको सजायको भागेदार हुनुपनि त स्वाभाविक नै त हो नि | तर एकफेर सोचौँ त, जसले जिन्दगीमा कहिल्यै केहि गल्ति नै गरेका छैनन्, उनीहरुको पिता/माताले गरेको सानो/ठूलो गल्तिका भागेदार कलिला नानीहरु हुने र सोहि गल्तिकै भारि बिसाइदिएर समाजले सधैँ छिछि र दुर दुर गर्ने अवस्था आएमा भने उनीहरुले गर्ने के ??

Saphalta HIV Shikshya Sadan

हो यस्तै आफुले कहिल्यै नगरेको गल्तिको शिकार भएका साना नानीबाबुहरु हुन ‘सफलता एच. आइ. भी. शिक्षा सदन’मा आश्रित १० जना बालबालिकाहरु | फेरि यिनीहरु त हाम्रा समाजका प्रतिनिधि पात्रहरु मात्रै न हुन | यस्तै अवस्थामा समाजमा अपहेलित भएका कलिला बालबालिकाहरु जसलाई एच. आइ. भी.कै अर्थ पनि थाहा नहुन सक्छ वा अरुले जे घोकाइदिएका छन्, त्यसैलाई नै सर्वेसर्वा मानेर आफु समाजको अपहेलित पात्र नै हुँ भन्ने मानेर जीवन जिउन बाध्य झन् कति होलान |

मंजु चन्दका आमा-बाबु उनी सानै छँदा बिते | सधैँ बिमारी परिरहने उनीलाई हेरचाह गर्ने खासै कोहि थिएनन | पहिलो पल्ट सानैमा जब उनी फुपूको सहायतामा अस्पताल पुर्याईन, उनीलाई एच. आइ. भी. भएको पुष्टि भयो | जन्मजात एच. आइ. भी. संक्रमित थिइन उनी |

नेपालका धेरैजसो दुर्गम गाउँहरुमा जीवनयापनका निम्ति मुग्लान जाने प्रचलन आज पनि कायमै छ | मुग्लान गएका अधिकांश बाबुहरुले उतैबाट एच. आइ. भी. कोसेली लिएर आउने गर्छन, सोहि रोग आफ्ना श्रीमतीहरुलाई सार्छन | आफ्ना श्रीमानलाई देवता ठान्ने नेपाली नारीहरुलाई पनि सो रोग त सर्छ नै, तत् पश्चात जन्म हुने शिशुहरु पनि एच. आइ. भी. संक्रमित भएर जन्मन्छन र हेलत्वको जीवन जिउन बाध्य हुन्छन |

उर्मिला अर्याल, ९ ले आफ्नो कहानी प्रष्ट राख्दा आफ्नै मुटु चस्स बिझ्छ | उनी भन्छिन “मेरो बाबा मुग्लान जानुभयो र एच. आइ. भी. लिएर फर्कनुभयो | सो रोग मेरो आमालाई सार्नुभयो र म पनि सोहि लिएरै जन्मिएँ | मेरो दोष त के हो थाहा छैन तर हामी जस्तै बालबालिकाहरुले समाजमा हेय दृष्टिले बाच्नु नपरोस” | उर्मिलाकि बाबुको एड्सका कारण मृत्यु भैसक्यो तर आमा हालसम्म ठिकैछिन | तर आमालाई चाहेर पनि भेट्न नपाउंदा भने उनी सार्है मर्माहित छिन |

Children at #SSS

सफलता शिक्षा सदनमा हाल रहेका धेरैजसो नानीहरुका यो संसारमै अरु कोहि छैनन् | कोहि छन् त केवल ठूलो सर राजकुमार पुन र ठूलो मिस उमा गुरुङ | र उनीहरुलाई साथ दिइरहेका केहि सर मिसहरु जो आफ्नो अरु जागिर छाडेर ती नानीहरुको उज्वल भविष्यका निम्ति लागि परिरहेका छन् | राजकुमार सर र उमा मिसले ठूलो मेहेनत र अथक परिश्रमले सल्यान, रुकुम, दाङ र दार्चुलाका बालबालिकाहरुको लालन पालन गरिरहेका छन् | यो सबैबाट सबैभन्दा सन्तोष मिल्ने कुरो भनेको चाहिँ त्यहाँ रहेका नानीबाबुहरु अत्यन्तै ज्ञानी, सन्तोषी र पढ़ाकु छन् |

Founder Chairman : Rajkumar Pun

उमा मिसलाई त दुर्गम भेगमा रहेका अरु धेरै एच. आइ. भी. संक्रमित बालबालिका सदनमा ल्याएर पालन पोषण गर्ने ठूलो इच्छा छ, तर धेरै बाध्यताहरुले गर्दा असमर्थ छिन | राजकुमार सरले आफ्ना बाबुआमाका लागि भनेर निर्माण गरेको घर सदनको खर्च धान्न आफैँले बेचेर फेरि आफैँ सोहि घरमा भाडावाल भएर बसेका छन् | कहानी कति उदेक लाग्दो छ | हामी सबै मिलेर उहाँहरुले गरे जस्तै ठूलो मेहेनत त गर्न नासकौला तर केहि थोरै थोरै सहयोग जुटाएर जम्मा गर्न सके पनि त उहाँहरुको यस महान कार्यमा केहि टेवा पुग्न सक्थ्यो कि भन्ने भावनाका साथ आज हामी साथीभाईको लुज ग्रुप #tfcNepal हामी भात्केपाटि स्थित सफलता एच. आइ. भी. शिक्षा सदन पुगेका थियौँ |


Group Photo : @tfcNepal

हुन त एच. आइ. भी. आफैँमा एउटा रोग होइन, केवल रोगको लक्षण मात्रै हो | तर एच. आइ. भी. संक्रमित व्यक्तिलाई अन्य कुनै रोगले आक्रमण गर्नसक्ने सम्भावना बलियो हुन्छ र सो भैहालेमा लामो समयसम्म सो रोगको प्रभाव रहन गै मृत्यु सम्म पनि हुनसक्छ | यो सबैका बिच पनि ती कलिला नानीहरूमा भविष्य प्रति ठूलो आशा छ, उनीहरु भविष्यमा समाजमा अग्रणी भूमिका निर्वाह गर्न कतिबद्द छन् | उनीहरुलाई पनि समान अवसर प्रदान गर्ने हो भने सो असम्भव पनि छैन | उनीहरुलाई सक्दो सहयोग गरौं न |

सहयोगको लागि :
सफलता एच. आइ. भी. शिक्षा सदन
भात्केपाटि, किर्तिपुर
स्रोत ब्यक्ति :
राजकुमार पुन, संस्थापक अध्यक्ष : ९८४१५६४१६९
उमा गुरुङ, संस्थापक ब्यबस्थापक : ९८४९०९००५७
बैंक एकाउन्ट : सफलता एच. आइ. भी. शिक्षा सदन, किर्तिपुर
ग्लोबल बैंक लिमिटेड, किर्तिपुर शाखा
बचत खाता : ०५०१०१००००२०८ 

Comments

  1. vert beautifully written and presented... lekhaima maarmikta ra saralta chha.. ra tfclai badhai chha yesto punya kaamko laagi

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required