लघुकथा : यहाँको चलन

धत् बुढी | तँ चिन्तै नगर के देशको बारेमा | तँ एकजनाले चिन्ता गरेर देशको केहि लछारपाटो लाग्ने हैन क्यारे, भो बरु एक कप मिठो चिया बना त | गमक्क फुलेर बसेकी बुढीलाई नेताजीले मुस्कुराउँदै सम्झाउन खोज्दैथिए | हेर न बुढी, अब न कुनै योग्यता, न केइ गुण, आनन्दले मन्त्रि पद पड्काईयाछ, मनग्य कमाइयाछ | अख्तियारले खेदेसी भन्या देखाजाएगा | फेरी १० करोड कमाइसकेसी १ करोड तिर्न बाल मतलब ? अनि एक-दुइ बर्ष जेल नै बस्नुपरे नि बस्दिउंला नि, त्यति जेल बस्द्या भरमा बाँकी नौ करोड आफ्नो हुन्छ भने के चिन्ता ?? फेरी यस्तो सिचुएशन आउने भन्या त कतै केहि नलागेसी हो, तँ मान न तेरो बुढोलाई यस्तो भवितब्य त ज्यानजाला पर्दै पर्दैन | सोझै व्यक्तिगत रिसइबीले मान्छे मार्नेलाई त आम माफी, अझ मन्त्रि पद नै दिन त पछि पर्दैनन हाम्रा राष्ट्रभक्त प्रधानमन्त्रिहरु  | ठुलै भाग्य ले'र मन्त्राणी बन्न जन्म्यारैछेस तँ बुझिस | 

रिसाएर गमक्क फुलेकी मन्त्राणी खुट्टा बजार्दै भान्छा छिर्छे | ग्याँस बाल्छे र चिया बसाल्छे ... अनि सोच्छे, हुन त हो नि | देशैभरि ग्याँसको हाहाकार भएर मान्छे भोकभोकै पर्दापनि त हाम्रोमा कहिल्यै ग्याँस सकेको थाहै भएन, बुढाले जाँ बाट भएपनि त ल्याईहाले, खासै गाह्रो केहि भएन | अझ अघिल्लो पालि त मैले नै फोन गर्दा नि अस्ति ग्याँसको पिँध काट्या भनेर आरोप लाग्या घिमिरे बाबुले मेरो स्वर सुरुमै चिनेर नमस्कार गर्दै अहिलेलाई अलि गार्हो छ हजुर, १० वटामात्रै पठाईद्याछु भन्या कस्तो भुसुक्कै भुलेछु नि मैले | त्यति ग्याँस नपाइएको भए त माइतीमा कम्ति गाह्रो भैसक्या त थेन | अनि अझ बिजुली कहिल्यै जाँदैन, पानी नि कति स्वच्छ छ यहाँ हरिहरभवनको | मन्त्रि एवम् मन्त्रि परिवारको स्वास्थ्यलाई कति धेरै महत्व दिएर नयाँ फिल्टर जडान गर्याछन् | हुन पनि हो नि, देश चलाउने मन्त्रिले त स्वच्छ पानी पिउन पाउनै पर्यो नि | 

ओहो चिया त सुकी पो सकेछ | जर्मनी बाट एक उध्योगीले उपहार स्वरूप ल्याईदिएका कप र रिकापी, कम्ति सुहाउन्न मेरो बुढाको हातमा | चिया लिएर मन्त्रि सामु देखापर्छे मन्त्राणी | 

चिया सुरुप्प पार्दै जिस्किन खोज्दै मन्त्रि भन्छ, ' अघि त सारो गम्केकी पो थियौ त, चिनी नै नहाली चिया ल्याईदेलाउ भन्ठान्याथें त, कति मिठो पो बनाइछे मोरी' | 
लजाउँदै मन्त्राणी भन्छिन, जिस्किसिन्छ हजुर पनि | अनि ए हजुर ! मेरो भाइले आज फेरी फोन गरेथ्यो | कत्ति गर्दा पनि पेट्रोल पाएकै होइन रे  | के गर्दैछ तपाइँको सरकार ? पहिले पहिले त जत्ति गार्हो सार्हो पर्दापनि घरमै जर्किन मात्रैको के कुरा, ड्रम ड्रम नै तेल हुन्थ्यो, अझ यसो फोन गर्देसी माइतीमा समेत पुर्याईदिन्थे तेल, तपाईको सरकार आएसी त तेलको अन्वार नदेख्या नि कति भो हौ | के भाको हो यस्तो ? 

अचेल अलि गार्हो छ के कान्छी, फेरी तिम्रो भाइ पनि संधै कति दिदिकै भर परेर बस्ने हो के ? यसो इलम गरे हुन्थ्यो केइ - मन्त्रि भन्छ |

अँ, दोष जति सप्पै मेरै भाइमा थुपार्नु नि | अस्ति सिमेन्ट फ्याक्ट्रीमा म्यानेजर पद खुल्दा यसो सिफारिश गर्दिनु भन्या नि टेर्नु भएन, अर्को नयाँ बैँक कुनी के हो खुल्दैछ रे, घर नजिकै महाराजगंजमा | यो पालि त जसरि नि मिलाईदिनु है भन्द्याछु | अनि फेरी मेरै भाइको दोष देख्ने हैन नि - मन्त्राणी कड्किन्छे | 
बेलामा राम्ररी पढ, ठुलै पदमा मिलाईदिउँला भन्या टेरेन, अब काँ बाट मिल्छ त ? ल ल तै पनि यसो कोशिस गर्दिउंला | 
ए साचि, अघि हजुरको पिएले खबर गरेथ्यो | अब बाट १० दिनको लागि संसद अधिवेशन बन्द भाकोछ रे, बैठकमा उपस्थित हुनुपर्दैन रे | आज दुवैजना यसो कतै घुम्न जाउँ न हुन्न ? 

ओहो, हुन्न हुन्न | आज त मन्त्रि परिषदको आपतकालिन बैठक छ | अस्ति झुठा मुद्दामा भ्रष्टाचार अभियोग लगाएर जेल पारिएका मन्त्रिको पक्षमा क्याबिनेटमा फैसला हुने कार्यक्रम छ, कस्तो भुलेछु मैले त .... ल है म हिँडे | बरु ड्राइभर कता छ ? गाडी निकाल्नु भन्देउ त | 
मन्त्रि हिडें ......

मन्त्राणी टिभी खोल्छे | टिभी बोल्छ : संबिधान नबन्ने निश्चितप्राय , म्याद नथपी संबिधान नबन्ने बिज्ञहरुको ठहर | 
आ, केलाई बनाइरहनु त संबिधान ? संबिधान बने कानुन बन्ला, कानुन बने नियममा कडाइ होला | अहिले मनग्य कमाइरहीयाछ, मन्त्राणी बनि सुखसयल गर्न पाईयाछ, संबिधान बनेसी भन्या क्याहो क्याहो ? बरु अब यो सरकार ढलेसी बन्ने मन्त्रि मण्डलमा फेरी बुढालाई मन्त्रि बनाउन चाहिँ काङ्ग्रेसीहरुसँग कुरा मिलाई राख्ने गृहकार्य गर्दैगर्नुपर्यो | अबको पालो काँग्रेसको भन्याछन् |

भाडमा जाओस देश, भाडमा जाउन जनता ||

यस कथाका घटना एवम् पात्रहरु वास्तविक हुन्, कसैको पनि जिन्दगीसँग मेल नखाएमा संयोग मात्र हुनेछ :P  

Comments

  1. यस कथाका घटना एवम् पात्रहरु वास्तविक हुन्, कसैको पनि जिन्दगीसँग मेल नखाएमा संयोग मात्र हुनेछ :P
    यही हो पन्चलाइन यो कथाको..गज्जब लेख्यौ साथी :D

    ReplyDelete
  2. Superlikes! :))
    भाडमा जाओस देश, भाडमा जाउन जनता ||

    यस कथाका घटना एवम् पात्रहरु वास्तविक हुन्, कसैको पनि जिन्दगीसँग मेल नखाएमा संयोग मात्र हुनेछ :P

    ReplyDelete
  3. I read just today,now I know,I was truly busy,anyways,its so fun reading your article as always.Its a picture of current Nepal,kind of sad bt true,yet the way you wrote,made me laugh.Most say love the ending,wil copy n paste again ;)
    भाडमा जाओस देश, भाडमा जाउन जनता ||

    यस कथाका घटना एवम् पात्रहरु वास्तविक हुन्, कसैको पनि जिन्दगीसँग मेल नखाएमा संयोग मात्र हुनेछ :P love this part, thousands of likes :)

    ReplyDelete
  4. गज्जपले पेल्यौ नि । मन पर्यो ।

    ReplyDelete
  5. kasto ho........tetisarai chai nahepa k hahahhahahhahahha

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सशंकित संरक्षणकर्मी

Sustainable Green Infrastructure: State and prospect for Environment Friendly Development

Saving Biodiversity, timely actions required