Sunday, January 15, 2012

आफ्नै कहानी – १




ब्लगमा केहि नलेखेको अलिक धेरै नै भएछ | लेख्ने रहर नि नभएको त कहाँ हो र ? तर यसो उसो गर्दैमा फुर्सद नमिल्ने भैरहेथ्यो | ट्वीट्टरमा एकजना हितैषी दाजुले आफ्नो बेलायत भ्रमण/बसाइका बारेमा केहि लेख भन्नु भएसी भने केहि लेखिहाल्ने उत्साह जाग्यो | आज म एक महिने क्रिश्मस बिदा सकेर आफ्नो दाजु,भाउजु र दुइ छोराहरु रहेको घर Hatfield बाट मेरो University शेफ्फिल्ड फर्कदैछु | अघिल्लो दुइपल्टको यात्रा बसबाट गरेको भएर होला, यसपल्ट मलाई ट्रेनमा यात्रा गर्ने रहर पलायो र १० दिनअघि जति टिकेट किनेथें अनलाइन | अहिले यात्रा गर्दैगर्दा यो ब्लग तयार पार्दैछु | थोरै मात्रै ब्याट्री ब्याकअप दिने तर मेरो असाध्यै प्रिय ल्यापटपलाई आफु बस्ने सिट छेउमै रहेको पावर सकेटमा जोड्दै ट्रेनकै फ्री इन्टरनेट प्रयोग गर्दै यात्रा गर्दा अचम्म लाग्दैछ | खासै ठुलो कुरो त केहि हैन, तर पावर सकेट मात्रै देखेको, आक्कल झुक्कल बिजुली आउने देशको गौरवशाली नागरिक मलाई भने अचम्म लाग्नु ठिकै त हो |
धेरैको सपनाको शहर 
दिन बित्न कति नै समय लाग्ने रैछ र ? यता उता गर्दा समय बितेको पत्तै नपाइने | मास्टर्स गर्न भनेर यता बेलायत आएको पनि झण्डै पाँच महिना भैसकेछ | नेपाल भुमि बाहेक विदेशको नाममा भारतको केहि शहरहरु केहि पटक घुमेको छु, तेत्ती हो | एकैपटक बिश्व सभ्यताको आदिम युगमा विश्वभर आधिपत्य जमाउदै एकछत्र राज गरेको गोराहरुको उद्गमभुमिमा आइपुग्दा भने आफुलाई भित्री बाठो ठान्ने आफैँले आफैलाई 'लाटो' भएको पाएथें मैले | सबैले भन्थे, आफैले पढ्थें, बेलायत भनेको त पूरानो शहर हो, त्यहाँ त सबैजसो पुराना बस्तुहरु/भवनहरुलाई जगेर्ना गरि राखिएको छ ~ आफुलाई भने सबैकुरो नयाँ लाग्ने | सुरुमा Heathrow Airport मा उत्रिए लगत्तै मेरो जेठो दाजु मलाई लिन एयरपोर्ट आइपुग्नु भएथ्यो | बेलायत आउनु भनेको मेरोलागि उहाँकै कृपा हो, नत्र यस समयमा मेरो बेलायत आउने भन्दापनि धेरै प्राथमिकताका बिषयहरु नेपालमै थिए | Heathrow मा मैले पहिलोपल्ट तेती धेरै मान्छेहरु एकैठाउँमा देखेँ जुन भिड मैले पहिले नेपालका ठुला राजनैतिक पार्टीहरुका जुलुसहरुमा झण्डा बोकेको मात्र देखेको थिएँ | एकै ठाउँमा तेती धेरै मानिसहरु त्यहाँ थिए, तर फरक कसैको हातमा केहि झण्डा थिएन, केहि थियो भने पासपोर्ट थिए होलान |  
नेपालबाट बेलायत हिड्ने अघिल्लो दिन मेरो मामाघरको हजुरआमाको निधन भएथ्यो, भारी मन बोकी मैले उड्नु पर्ने थियो | केहि समय देखि ममीको पनि स्वास्थ ठिक थिएन, र पनि यता आउने सबै तयारि पुरा भैसकेकोले मैले यता आउने निर्णय गरेको थिएँ | दाजुसँग भेट भएपछि हामी Hatfield घरमा एकघण्टा जति बसेर त्यसै साँझ स्कटल्याण्डका लागि हुइकियौं | कारण थियो स्कटल्याण्डमा रहनु भएकी मेरी सानीआमा, जसलाई मैले उहाको आमाको असामयिक निधनको खबर सुनाउनु थियो | १२ घन्टे हवाई यात्रा पुरा गरिसकेपछि लन्डनबाट स्कटल्याण्डको अर्को १२ घन्टे मोटर यात्राका लागि म र मेरा दाजु घरबाट निस्केका थियौं | मेरा दाजु बिगत १२ बर्षदेखि यतै बेलायत बसोबास गर्दै आउनुभएको छ, उहाँलाई जति यहाँको जानकारी अरु कसलाई होला र ? बाटैपिच्छे अनेकौं नयाँ नयाँ संरचना देखिन्थे, उहाँ मलाई विवरण बताउँदै गर्नुहुन्थ्यो र हामी बाटो कटाउँथ्यौ | बाटोमा हामीले धेरै नामचलेका शहरहरु छिचल्यौ | रातभरिको Driving ले लखतरान थियौँ हामी दुवै | उसैगरी पुग्यौँ सानिमाको घर, मुख्य समस्या त अबको पो थियो | सानीमालाई उहाँको ममतामयी आमाको असामयिक निधनको खबर दिनु चानचुने काम थिएन | घरमा अकास्मात हामी खबरै नगरी आइपुगेकोले उहाँ खुशी हुनुको साटो एक्कासी रुन पुग्नुभयो | डाँको छाड्दै रुदै वहाँ सोद्धै हुनुहुन्थ्यो 'कसलाई के भयो ? तिमीहरु किन आयौ ?'  नौ महिना कोखभित्र रहेकालाई त पक्कै पनि त घटना घटेसी मनमा केहि भाव आएको हुनुपर्छ | सान्त्वना दिने ठाउँ नै थिएन | ४ बर्षे बेलायत बसाइमा बिरलै बिदा मिल्ने उहाँको समय मिलाएर यसैबर्ष उहाँ आमा-बुवा भेट्न नेपाल जाँदै हुनुहुन्थ्यो | १५ दिन अघि यस्तो नराम्रो खबर लिएर हामी उहाँसामु पुग्दै थियौँ | स्थिति समालिने अवस्था नै रहेन, हामी लगायत त्यहाँ रहनु भएका हाम्रा आफन्तहरुले भरमग्दुर प्रयास गर्यौँ | अहिले सो समय सम्झिनै सक्दिन म |
दाजु र म ३ दिन स्कटल्याण्ड बस्यौँ | खुशीको समय भएपो मन बहलिन्थ्यो, लगभग स्कटल्याण्ड बसाइ पुरै घरभित्रै रुँदै बित्यो | स्कटल्याण्ड बाट फर्किने बखत हामी Manchester हुँदै Sheffield पुग्यौं, जहाँ मैले डेढ बर्ष बिताउनु थियो | बस्नको लागि University नजिकै Accomodation खोज्ने कामकुरा गर्यौं र Hatfield फर्क्यौं | बेलायतका हरेक शहर कति बिकसित, कति सफा र कति राम्रा लाग्यो मलाई | गगनचुम्बी भवनहरु भने खासै देखिएन | ति भने सेन्ट्रल लण्डन आसपास मात्रै रहेछ झैँ लाग्यो तथापि Manchester मा भने केहि ठुला ठुला, अचम्मै पार्ने संरचनाहरु देख्ने अवसर मिल्यो | साथमा दाजुको ठाउँ पिच्छेकै ब्याख्याले मलाई कतिधेरै कुरा जान्ने मौका मिल्यो | Hatfield पुग्दा फेरी अन्धकार भैसकेको थियो | मलाई अचम्म लागेको अर्को कुरा भनेको यहाँ घाम त उत्ति सारो देखिने होइन, र पनि दिन उत्ति उज्यालो खासै हुँदैन | बिहान ७ बजेतिर उज्यालो हुन् सुरु हुन्छ भने दिउँसो चार बजे त मध्यरात जस्तै अन्धकार हुन्छ | धन्य यहाँ लोडशेडीङ हुन्न र मात्रै :P
यहाँको अधिकाँश भुमि समतल छ, अनि सुविधा नपुगेको ठाउँ बिरलै छन् | नत्र जहाँ जाउँ, जता पुगौँ ~ उस्तै लाग्ने बाटाहरु छन् | बस चलेका छन्, ट्रेन तेत्तिकै छन्, हवाई यात्रा उत्तिकै छ .... त्यसैले त बिकसित देश | अझ आर्थिक अवस्था कम्जोर हुँदै गएकोमा भने कति चिन्तित छन् सरकारमा बसेकाहरु | सरकारमा नरहेकाहरु झनै बढी चिन्तित | यसो तुलना गर्छु नेपालका हाम्रा नेताहरु सँग, अनि हाँसो लाग्छ आफैलाई | जबर्जस्ति चिनका प्रधनमन्त्रीलाई नेपाल बोलाएर ७५ करोड अमेरिकी डलर आर्थिक सहयोगमा हस्तक्षर गराए, हाम्रा देशका महान प्रधानमन्त्रिले | गर्वको कुरा होला उनलाई, तर म जस्तो नेपालीले सोच्ने भनेको त ७५ करोडमा आधि मात्रै रकम मात्रपनि लक्षित बर्गसम्म पुगे त धन्ने | आ.... यसो गर उसो गर सराप्न मन लाईहाल्छ नेताहरुलाई | बरु भो-नकुरागरम !

2 comments:

Aakar Anil said...

गज्जब !
आफ्नो भन्दा नि, युके कहानी भन्नुपर्ने !
:)

दूर्जेय चेतना said...

सही युके कहानी..। राम्रो लाग्यो मलाई..

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More